विजयपुर । धरानमा डेढ तोला सुनसहित अन्य सामग्री चोरी भएको छ ।
शुक्रबार राति करिब १ बजेतिर धरान–१० स्थित देवीथान लाइनको रिङ्छेङ बेकरीबाट २ वटा सुनको औंठी र ब्रासलेट गरी डेढ तोला सुन चोरी भएको भिआरसी मिट मार्ट एन्ड अर्गानिक पसलका सञ्चालक मदन तामाङले जानकारी दिए ।
उनका अनुसार भिआरसी पसलमा ७ सय रुपैयाँ, मोबाइल १ थान र काउन्टरमा रहेको घडीसँगै अन्य २० वटा रेडबुल चोरी भएको छ । उनले पहिले भिआरसी पसलको चेन गेट फोडी सबै खोजेको जस्तो देखिने त्यसपछि बेकरीतिर गएर चोरी गरेको अनुमान गरिएको बताए । उनले भने, ‘सुन झोलामा राखेको रहेछ । झोलै लगेछन् र झोला तलतिर फालेछन् ।’
तामाङले आफ्नो पसलमा अहिलेसम्म ३ पटक चोरी भएको बताए । पहिले १ लाख ७० हजार रुपैयाँ नगद चोरी भएको र दोस्रो पटक १० हजार रुपैयाँ चोरी भएको उनले बताए । उनले पटक पटक चोरी भएकाले सुरक्षा चुनौती थपिएको बताए । चोरीको घटनाबारे जानकारी आएको बताउँदै इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर गजेन्द्र रायमाझीले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।