सुनसरी । पछिल्लो समय भारतसँग खुला सिमा जोडिएको प्रदेश नम्बर १ का सुनसरी, मोरङ, झापासहितका जिल्लाहरूमा दिनहुँजसो अवैध सामान नियन्त्रणमा लिने क्रम बढेको छ ।
सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म तीन करोड बढीको सामान बरामद गरिएको छ ।
भारतीय बजारबाट अवैधानिक तवरबाट चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा सुनसरीको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ३ सय ३१ मुद्दामा जम्मा तीन करोड ३० लाख ४० हजार ७ सय १३ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो ।
जसअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी सशस्त्र प्रहरीले सामान बरामद गरेको देखिन्छ । वैशाख मसान्तसम्म सशस्त्र प्रहरीले १ सय ८३ वटा मुद्दामा एक करोड ३२ लाख १३ हजार ७ सय ७० रुपैयाँ बराबरको समान सुनसरी भन्सार कार्यालयमा दाखिला गरेको छ भने नेपाल प्रहरीले ९० वटा मुद्दामा एक करोड १७ लाख २५ हजार ३ सय ८ रुपैयाँ बराबरको सामान दाखिला गरेको देखिन्छ ।
यस्तै सुनसरी भन्सार कार्यालयबाट खटिएको गस्ती टोलीले ५८ वटा मुद्दामा ८१ लाख एक हजार ६ सय ३५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणमा चेतनाको स्तर बढाउन थालेकाले सशस्त्र प्रहरीलाई काम गर्न सहज भएको सशस्त्र प्रहरी बल सुनसरीका एसपी विक्रम होमागाईं बताउँछन् ।