विराटनगर । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छली गरेको आशङ्कामा ४० लाख मूल्य बराबरको सामान बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्याक्टर प्रहरीले राजस्व कार्यालय इटहरी सुनसरीमा आवश्यक अनुसन्धानका लागि बुझाएको छ ।
विराटनगर–४ स्थित विराटनगर–इटहरी सडक–खण्डमा भारतीय नम्बर प्लेटको बीआर ३३ जिबी २६२७ नम्बरको ट्याक्टरमा मोटरपार्टस्, छाला, नटबल्टु, मेसिन पार्टस् र कपडालगायतको ४० लाख मूल्य बराबरको सामान राजस्व छली गरेको आङ्शकामा बुधबार नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
‘भन्सारबाट जाँच पास भएर आएको सवारीले भन्सार छली गरेको आशङ्कामा नियन्त्रणमा लिइएको हो’ उनले भने, ‘थप अनुसन्धानका लागि राजस्व कार्यालय इटहरीमा बुझाएका छौं ।’ इटहरीस्थित राजस्व कार्यालयले अनुसन्धान गरेपछि भन्सार छली गरेको वा होइन खुल्ने उनले बताए ।
प्रहरीले ट्याक्टर चालक भारतको अरेरिया जोगवनी वडा नं. १० टिकुलीयाका ३४ वर्षीय श्याम चौधरीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको सामान भन्सार एजेन्ट चेतनाथ पौडेलका प्रतिनिधिले लालवचन यादवले भन्सार कर्मचारीसँग मिलेर भन्सार छली गरेको आरोप छ । विद्या केलिरिङ कन्सर्नका प्रतिनिधि रहेका यादवले व्यापारीहरूको सामान भन्सारका कर्मचारीहरूसँग मिलेमतोमा कम मूल्याङ्कन गरी भन्सार छली गर्ने गरेको स्रोतको दाबी छ ।