धरान । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चतराले भारी परिमाणमा गाँजा बरामद गर्न सफल भएको छ ।
बेस क्याम्प चतराका प्रमुख इन्स्पेक्टर निगम राईको नेतृत्वमा खटिएको गस्ती टोलीले बुधबार साढे ३ सय केजी गाँजा बरामद गरेको हो । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउने तयारी भएको इन्स्पेक्टर राईले जानकारी दिए । २०७९ वैशाख १४ गते सशस्त्र प्रहरी बल जिल्ला कार्यालय सुनसरीका एसपी वीक्रम हुमागाईंको नेतृत्वमा खटिएको टोलीले १ सय ५० केजी गाँजा बरामद गर्न सफल भएको थियो ।
उक्त गाँजा कहाँबाट कसले ल्याएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको इन्स्पेक्टर राईले जानकारी दिए । वराहक्षेत्र नगरपालिका २ खयरटापुमा ११ वटा खाल्डो खनेर गाडेको अवस्थामा ११ बोरा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रबाट पटक पटक गाँजा बरामद हुँदै आए पनि त्यसमा संलग्नहरू पक्राउ पर्न सकेका छैनन् ।
प्रारम्भिक अनुसन्धानमा उक्त गाँजा भोजपुर तथा धनकुटाको दक्षिणी क्षेत्रबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । तर, गाँजाका धनीलाई पक्राउ नगरिञ्जेलसम्म यसै भन्न सक्ने अवस्था नभएको इन्स्पेक्टर राईको भनाइ छ । उक्त गाँजा कहिले गाडेको हो भन्ने पनि खुल्न सकेको छैन ।
तस्बिर स्रोतः सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चतरा