सुनसरी । प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणमा कडाइ गरे पनि सुनसरीका ग्रामीण क्षेत्रमा अझै घरेलु मदिराको कारोबार भइरहेको छ ।
पछिल्लो समय दलित तथा निम्नवर्गीय घरपरिवारमा महिला तथा बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा र घरायसी विवादको मुख्य कारण घरेलु मदिरा बन्दै गएको कोसी गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष लालदेव सदा बताउँछन् ।
दिनभरि मजदुरी गर्दै साँझ घरेलु मदिराको सेवन गरेर घरपरिवारमा झै–झगडा हुने गरेको उनले बताए । कोसी गाउँपालिका वडानम्बर १, २, ६ र ७ मा घरेलु मदिराको उत्पादन तथा बिक्रीवितरण हुने गरेको स्थानीय बताउँछन् । अशिक्षित, गरिब र निमुखा दलित समुदायको बसोबास भएको क्षेत्रमा सबैभन्दा बढी मदिराको कारोबार हुने गरेको छ ।
दलित महिलाहरू चेतना अभावमा घरेलु मदिरा उत्पादन र कारोबार गरी जीविकोपार्जनको माध्यम बनाएको कोसी गाउँपालिका–२ की स्थानीय मोची सदाले बताइन् । जीविका चलाउने माध्यम बनाएको हुँदा घरेलु मदिरा न्यूनीकरण गर्न चुनौतीपूर्ण रहेको उनको बुझाइ छ ।
प्रहरीले पटक–पटक मदिराको उत्पादन तथा कारोबार नगर्न सचेत गराए पनि गाउँमा अझै कायमै रहेको सदाको भनाइ छ । दिनभर विभिन्न काममा व्यस्त रहने दलित महिलाहरू साँझ परेपछि असुरक्षित हुने गरेको उनले बताइन् । रक्सी खाएर आउने श्रीमान्ले भनेअनुसार नमानेमा श्रीमतीलाई दिनहुँजसो कुटपिट गर्दै विभिन्न यातना दिने गरेको सदाले बताइन् । मदिराकै कारण ग्रामीण क्षेत्रका महिला दिदीबहिनीले अनावश्यक रूपमा आफ्नै घरपरिवारबाट हिंसा खेपिरहेको अर्का स्थानीय लोचन मुखियाको भनाइ छ ।
श्रीमान् वा आफ्नै घरपरिवारबाट हिंसा खेप्न बाध्य भए पनि कमै महिला त्यसको विरुद्ध प्रहरीमा जाने गरेको कोसी गाउँपालिका–७ का वडाध्यक्ष सदाको अनुभव छ । आफूमाथि भइरहेको हिंसाका बारेमा अझै पनि महिला खुलेर बोल्न नसकेको बताउँदै उनले कहिलेकाहीँ प्रहरीमा पुगेका मुद्दा पनि अधिकांश मिलापत्रमै टुङ्गिने गरेको बताए ।
मदिरा सेवन गरेर सार्वजनिक रूपमा हो–हल्ला मच्चाउने, घरपरिवार, छिमेकी तथा साथीभाइमा झै–झगडा र कुटपिटका घटना दिनहुँजसो हुने गरेको वडाध्यक्ष लालदेवले बताए । नियमित रूपमा गालीगलौज र झै–झगडा हुने भएकोले तत्काल घरेलु मदिरा नियन्त्रण गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
रक्सीमुक्त अभियानमा जनप्रतिनिधि
यसैबीच घरेलु मदिराका कारण हिंसा बढेको भन्दै कोसी गाउँपालिका–७ हरिपुरमा जनप्रतिनिधिहरूले त्यसविरुद्धको अभियान चलाउने बताएका छन् । महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न गाउँलाई मदिरामुक्त बनाइछाड्ने उनीहरूले अठोट गरेका छन् । कोसी गाउँपालिका वडानम्बर ७ मा मुसहर समुदायबाट वडाध्यक्ष पदमा निर्वाचित भएर इतिहास रचेका लालदेवले आफ्नो समुदायभित्र विकृतिको रूपमा रहेको घरेलु मदिरा नियन्त्रण गर्न अभियान चलाउने बताए ।
मुसहर समुदायका सर्वसाधारण शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न तथा बालबालिकाको भविष्य उज्वल बनाउनसमेत गाउँलाई मदिरामुक्त बनाउन अभियान चलाउने उनले प्रतिबद्धता व्यक्त गरे । ग्रामीण भेगको दलित बस्तीमा घरेलु मदिराकै कारण विवाद हुने गरेको हुँदा आफ्नो पहिलो प्राथमिकता नै त्यसविरुद्ध अभियान चलाउनु रहेको उनले बताए ।
गाउँमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण हुने गरेको कारणले हिंसा बढेको हुँदा नियन्त्रण गर्न अग्रसरता देखाउनु सकारात्मक भएको बताउँदै नवनिर्वाचित कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले उनीहरूको अभियानमा पूर्ण साथ र सहयोग रहने विश्वास व्यक्त गरे । मदिरा सेवनले शारीरिक, मानसिक, आर्थिक, सामाजिक रूपमा कमजोर बनाउनुका साथै घरपरिवार अशान्त हुने गरेको बताउँदै उनले त्यस्ता समस्याबाट जोगिन रक्सीमुक्त पालिका बनाउनेतर्फ लाग्ने आफ्नो योजना रहेको सुनाए ।