धरान । सात वर्षअघि एक नाबालिग छात्रा बलात्कार गरेर फरार रहेका इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि सोमबार कारागार चलान गर्ने आदेश दिएको छ ।

हाल २२ वर्ष पुगेकी युवतीले आफू १५ वर्षको हुँदा कक्षा नौ मा अध्ययनरत रहेको समयमा खड्काले पटक–पटक बलात्कार गरेको तर, प्रहरीले हालसम्म पक्राउ नगरेको भन्दै जेठ ७ गते सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

सामाजिक सञ्जालमा पीडितको भनाइ सार्वजनिक भएपछि गत बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले काठमाडौंबाट ३६ वर्षीय खड्कालाई पक्राउ गरेर सुनसरी प्रहरीलाई जिम्मा लगाएको थियो । खड्कालाई विदेश जाने तयारी गरिरहेको बेला प्रहरीले राहदानी विभागबाट पक्राउ गरेको थियो । 

पीडितले पीडक खड्काले आफूलाई ०७२ देखि ०७३ को अन्तिमसम्म ब्लुमिङ लोटसमा प्रिन्सिपल भएर रहँदा पटक–पटक बलात्कार गरेको भन्दै ०७४ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरे पनि फरार खड्कालाई पक्राउ गर्न सकेको थिएन ।

जिल्ला अदालतका श्रेस्तेदार मोहनबहादुर अधिकारीका अनुसार आरोपी खड्कालाई शुक्रबार बिहान ११ बजे सुनसरी जिल्ला अदालतमा हाजिर गराएर सोमबार बयान लिइएको थियो । बयानपछि थुनछेक बहस भएको र उनलाई न्यायाधीश सुवासबाबु पुरीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनलाई झुम्का कारागार पठाइएको श्रेस्तेदार अधिकारीले बताए ।

खड्काले ती छात्रालाई उपचार गराउन लैजाने बहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती बलात्कार गरेको पनि खुलेको छ । बलात्कार गरेको भिडियो र फोटोसमेत खिचेर त्यसैलाई ब्ल्याकमेलिङ गर्ने माध्यम बनाई पटक–पटक बलात्कार गरेको उजुरी हाल २२ वर्ष पुगेकी पीडित युवतीले दिएकी छन् ।

अरूलाई भनेमा भिडियो सार्वजनिक गरिदिने धम्की खड्काले दिएर पटक–पटक बलात्कार गरेको युवतीको भनाइ छ । खड्काले बलात्कार गरेपछि प्रहरीमा उजुरी दिएर अदालतमा मुद्दा पुगेपनि आरोपी खड्का पक्राउ नपरेपछि त्यतिकै सेलाएको थियो । तर, तीन साता अघिमात्र सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीले आफू १५ वर्षको हुँदा मनोज पाण्डेले बलात्कार गरेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि इटहरीकी युवतीले पनि आँट जुटाएर सामाजिक सञ्जालमा लेखेकी थिइन् ।