विराटनगर । मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलका ५० वर्षीय ‘माल्दाइ’ भनिने तुलसी श्रेष्ठको हत्या आरोपमा तीनजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले कटहरी गाउँपालिका–१ का ३३ वर्षीय रविन भुजेल, सोही ठाउँका २९ वर्षीय कपिल माझी र २८ वर्षीय नितेश चौधरीलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना रमेश माझीले सञ्चालनमा ल्याएको कृषि फर्ममा काम गर्ने मजदुर हुन् ।
शनिबार राति श्रेष्ठ भाइ चित्रकुमारले सञ्चालनमा ल्याएको कृषि फर्मतिर आउँदै थिए । कृषि फर्मभन्दा करिब ५० मिटर दक्षिण कटहरी गाउँपालिका–२ जमटोकी टोलको थानमार्गमा मृतक श्रेष्ठको आरोपीसँग भेट भएको थियो । हो–हल्ला गर्दै आएकाले हो–हल्ला नगर्न भन्दा विवाद सिर्जना भएको थियो ।
‘माल्दाइ हो–हल्ला गर्दै हिँडेपछि बाटोमा बसेका ती युवाहरूले ‘चुप लाग्’ भनेका रहेका छन् । माल्दाइ झन् कराउन थालेपछि आरोपीमध्येका रविनले बाँसको मुङ्ग्रोले टाउकोमा हानेको देखिन्छ । त्यसपछि रन्थनिएका मृतक श्रेष्ठलाई हातमा बोकेको मुङ्ग्रो र ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराम कोइरालाले भने, ‘योजनाबद्ध तरिकाले घटना भएको देखिँदैन । आवेगमा आएर घटना घटेको देखिन्छ ।’
प्रहरीका अनुसार करिब ११ बजेतिर हत्या गरेपश्चात् आरोपी रविन फेरि माल्दाइको शव हेर्न घटनास्थल पुगेको देखिएको एसपी कोइरालाले बताए । ‘हत्या गरेपछि १ बजे रविन शव हेर्न गएको देखिएको छ’–एसपी कोइरालाले भने ।
प्रवक्ता दीपक श्रेष्ठका अनुसार हाल तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले आज (सोमबार) मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए ।
भाइ चित्रकुमार श्रेष्ठको कृषि फर्ममा जान्छु भन्दै हिँडेका उनको शव आइतबार बिहान खेतमा भेटिएको थियो । चन्द्रले बिहीबार मात्र कटहरी–२ का युवराज श्रेष्ठको कृषि फर्म ४ लाख रुपैयाँमा किनेका कारण उनी त्यही फर्मका लागि घरबाट निस्किएको बेला हत्या भएको देखिएको छ ।