विराटनगर । साथीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कात्तिक २० गते विराटनगरको वडानम्बर १६ खादम पुला नजिक सुनसरीको बर्जु गाउँपालिका वडानम्बर २ रामगंज बेलगछियाका २० बर्षिय निकेश राय शव भेटिएको थियो ।
उक्त घटना रहस्मय बन्दै गएको थियो । प्रहरीले रायको हत्या आरोपमा बर्जु गाउँपालिका २ का २१ वर्षिय कलम विश्वकर्मा, मिथलेश राय र गोतम कुमार रायलाई पक्राउ गरेको इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । पक्राउ परेका तीन जना युवा मृतक निकेशका साथीहरू हुन् ।
पक्राउ परेका तीन जनालाई इप्रका रानीले कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गरेको छ । रायको शव भेटिएको सात महिनापछि प्रहरीले उनका साथीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको हो । ‘किटानी जाहेरी परेपछि अहिले हामी अनुसन्धान सुरु गरेका छौं,’ प्रहरी निरीक्षक दर्नालले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय अनुसन्धानपछि खुल्नेछ ।’
मृतकका आफन्तले निकेशको हत्या गरेपछि शव खोलामा फालिदिएको भन्दै न्यायको लागि सरोकारवालहरुसँग अपिल गर्दै आएका थिए । दिपावलीका दिन कात्तिक १८ गते साथीहरुसंग हिंडेका निकेशको शव कात्तिक २० गते विराटनगर १६ को खादम पुला नजिक भेटिएको थियो । मृतकको शवहेर्दा नाकबाट रगत बगेको शरिरमा समेत घाउखत रहेकोले हत्या भएको भन्दै मृतकका आफन्तले इप्रका रानीमा किटानी जाहेरी दिएका थिए ।
मृतक निकेश भारतमा मजदुरी गर्दै आएको र घटनाको केहिदिन अघि मात्र गाउँ फर्किएको आफ्न्तले बताएका छन् । घटना अघि मिथिलेश रायसंग निकेशको झगडा भएको र सो क्रममा मिथिलेशले ज्यान मार्ने धम्की समेत दिएकोे मृतका आमा सीता रायले बताइन् ।