विर्तामोड । मोवाइल चोरीको आरोपमा पक्राउ परेका एक युवामाथि १५ वर्षीय बालिकालाई बलात्कार गरेको उजुरी परेको छ । मोवाइल चोरीको अभियोगमा अनारमनी प्रहरीले पक्राउ गरेका तीनमध्ये एक युवाले बालिका बलात्कार गरेको खुलेको हो ।

अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने सुजन भुजेललाई मोवाइल चोरीको अभियोगमा सोमबार इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको थियो । उनीसहित तीनजनाको समुहले मोवाइल चोरी गरेको उजुरी परेपछि तीनैजनालाई प्रहरीले पक्राउ गरेको हो ।

भुजेललाई पक्राउ गरेको भोलीपल्ट अर्थात मंगलबार उनीमाथि बालिका बलात्कार गरेको अभियोगमा उजुरी परेको छ । पीडितका आफन्तले भुजेलबिरुद्ध उजुरी हालेका हुन् । इप्रका अनारमनी प्रमुख रुगमबहादुर कुँबरका अनुसार हिरासतमा रहेका भुजेलले बालिका बलात्कार गरेको उजुरी परेको छ ।

‘मोवाइल चोरीमा अनुसंधान भइरहेको समयमा बालिका बलात्कारको अर्काे मुद्दा आयो, कुँवरले भने–‘आरोपी हिरासतमा भएका कारण अब त्यो बिषयमा अनुसंधान गर्दैछौं ।’ प्रहरीका अनुसार भुजेललाई पक्राउ गर्नुअघि बालिका हराएको जानकारी आएको थियो ।

स्थानीय बिद्यालयमा अध्ययनरत बालिका स्कुल जाने भन्दै भुजेलसँग बिर्तामोड लयायतका शहरमा गएर बस्ने गरेको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भुजेलको बालिकासँग प्रेम सम्बन्ध रहेको थियो । पछि बुझ्दा बालिकाको पेटमा डेढ महिनाको गर्भ रहेको पाइएको जानकारी उनले दिए ।

प्रहरीका अनुसार भुजेल लागूऔषध दुब्र्यसनी हुन् । उनी बिराटनगरको बाल सुधार गृहमा समेत बसेर निस्केका हुन् । बाल सुधार गृहबाट निस्केपछि पनि उनी चोरी गर्ने कार्यमा संलग्न रहेको पाइएको छ ।