आफ्नै छोराले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते भएकी धरान उपमहानगरपालिकामा १४ नम्बर वडा स्थित हात्तीसार क्याम्पसको क्वाटरमा बस्दै आएकी ४२ वर्षीया शान्ती सुबेदीको मृत्यु भएको छ ।
शनिबार दिउँसो साढे १ बजे २५ वर्षीय छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भीर घाइते भएकी उनको आज दिउँसो ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सुबेदीलाई घटनापछि तत्काल उपचारको लागी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारको लागी विराटनगरको न्युरो अस्पताल लगिएकोमा त्यहाँ पनि उपचार हुन नसक्ने चिकित्सकको सल्लाह अनुसार घर फिर्ता ल्याउने क्रममा बाटैमा मृत्यु भएको कार्यालयले जनाएको छ ।
आमा माथि हतिया प्रहार गर्ने सौगातले डिप्रेसन औषधी सेवन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । सौगातलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बताएको छ।
झापा चन्द्रगढी घर भएका सौगातका बुबा हात्तीसार क्याम्पसका कर्मचारी रहेको बताइएको छ ।