धरान । रुस र युक्रेनबीचको युद्धको चपेटामा नेपालीहरू पर्न थालेका छन् । हालसम्म युक्रेन तथा रुसबाट नेपालीहरू दैनिकजसो आफ्नो ज्यान बचाउनका लागि छिमेकी देशको शरण लिन बाध्य छन् ।
यसक्रममा रुसबाट हिँडेका ११ जना नेपालीहरू लिथुआनिया र बेलारुसको जङ्गलमा फसेको समाचार बाहिरिएको छ । गैरआवासीय नेपाली सङ्घ रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवम् उद्धार उच्चस्तरीय समितिका अनुसार रुसबाट हिँडेका ११ जना नेपालीहरू लिथुआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका हुन् ।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रकाश शिवाकोटीका अनुसार शनिबार अलपत्र परेका नेपालीहरूले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका थिए । उनीहरू रुसबाट युरोपका अन्य मुलुकमा शरण लिनका लागि हिँडेको बताइएको छ । सुभाष कुँवरले ह्वाट्सएपमार्फत् कुरा गर्दै उद्धारका लागि अनुरोध गरेको शिवाकोटीले जानकारी दिए ।
यता जर्मनका लागि नेपाली राजदुत रामकाजी खड्काले नेपालीहरू युक्रेन युद्ध पीडित नभएर बिचौलियामार्फत् युरोप छिर्न हिँडेका युवाहरू हुन सक्ने आशङ्का गरेका छन् । यसअघि उनले आफै सीमा क्षेत्रमा सहभागी भएर नेपालीहरूको उद्धार गरेका थिए । राजदुत खड्काले उनीहरूको खोजीको लागि रुसस्थित नेपाली दुतावासमार्फत् समन्वय गरेर उनीहरूसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरू केही वर्षदेखि रुसमा बस्दै आएको बुझिएको जनाइएको छ ।
जर्मनीको जेलमा परेकालाई उद्धार
युक्रेन र रुस युद्धका कारण भागेर जर्मनी पुगेका नेपालीहरूलाई जर्मन सरकारले जेलमा राखेपछि नेपाली दुतावासको पहलमा निकालिएको छ । राजदूत खड्काका अनुसार शरण लिनका लागि जर्मन पुग्दा उनीहरूलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका नेपालीहरूलाई दुतावासको पहलमा निकालेर सुरक्षित स्थानमा राखिएको जनाइएको छ । अहिले युद्धमा पीडित बनेका नेपालीहरू दुतावासको सम्पर्कमा आउन छाडेको उनले जानकारी दिए ।
राजदुत खड्काले केही बिचौलीयाहरूले युरोपका विभिन्न देशमा रहेका नेपालीलाई भिœयाउन दलाल सक्रिय हुन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । यसबीचमा युद्धबाट विस्थापित बनेका चारजना नेपालीलाई भारतीय सरकारको सहयोगमा नेपाल पठाइएको उनले जानकारी दिए । भारत सरकारले हङ्गेरीमा रहेका २ जना, रोमानियामा रहेका १ जना र पोल्याण्डमा रहेका १ जनालाई उद्धार गरिएको हो ।
हालसम्म युद्ध प्रभावित क्षेत्रबाट विभिन्न देशमा शरण लिन पुगेकाहरूमध्ये १० जना नेपाल फर्किसकेका छन् । त्यसमध्ये चार जनालाई भारत सरकारको सहयोगमा फर्काइएको छ भने ६ जना आफै खर्च जुटाएर नेपाल फर्किएका हुन् । युद्धमा अलपत्र परेका नेपालीलाई जर्मनस्थित दुतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीहरूले यात्रा अनुमति–पत्र लिएको जनाइएको छ ।
एनआएरएनएका स्वास्थ्य समिति संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगान क्षेत्रबाट आएका ६ जना नेपाली विद्यार्थीको पनि उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको जनाए । युद्धका कारण ३५ वर्षदेखि युक्रेन बस्दै आएका एक नेपाली परिवारले युक्रेन छाडेको उनले जानकारी दिए ।
युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले जानकारी दिए । युक्रेन र रुस युद्धका कारण त्यहाँ रहेका नेपालीहरू आफ्नो ज्यान बचाउनका लागि पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हङ्गेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा देशमा पुगेका छन् ।
हालसम्म पोल्याण्डमा मात्रै ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हङ्गेरीमा ८ जना र माल्दावामा ४ जना पुगेका छन् । उनीहरूलाई एनआरएनएले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।