मोरङको कानेपोखरी गाउँपालिकाले ४ वटा वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरेको छ ।
आइतबार वडा नं. ३, ४, ६ र ७ नम्बर वडाले आआफ्नो वडामा एक कार्यक्रमको आयोजना गरी भवनको उद्घाटन गरेको हो । ४ वटै वडा कार्यालय भवनको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले रिबन काटेर उद्घाटन गरेका थिए ।
भवन उद्घाटन कार्यक्रममा उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, वडा नम्बर ६ का वडाध्यक्ष खड्ग बस्नेत पनि उपस्थित थिए ।
निवार्चित भएपछि यती ठूलो उपलब्धिको अपेक्षा नराखेको भए पनि आज जनप्रतिनिधिले काम गर्ने क्रममा धेरै उलब्धिमूलक काम गरेको धेरै उदाहरुणहरु भएको वडाध्यक्षहरुले बताए । उनीहरुले सबै काम सकिए पनि साउन १ गतेबाट नयाँ भवनबाट सेवा प्रवाह गर्ने बताए । कार्यक्रममा वडाका राजनीतिक दलका प्रतिनिधिले पनि शुभकामना दिएका थिए ।
सुरुदेखि नै वडा नं. १, २ र ६ पुरानै होक्लाबारी, केरौन र बयरवन गाविसको भवनमा कार्य सम्पादन गर्दै आएका थिए भने अरु वडा कार्यालयहरु भाडामा रहेका थिए । वडा नं. ६ को कार्यालय गाउँपालिकासँगै रहेकोले कार्यसम्पादन असहज भएपछि गाउँपालिकाले छुट्टै वडाकार्यालय निर्माण गरेको हो ।
उता वडा नं. ५ पनि भाडाको घरमा छ । जग्गा खोजी यस पटक वडा नं. ५ को पनि भवन निर्माण कार्य सम्पन्न गर्ने गाउँपालिकाले जनाएको छ । जिल्ला समन्वय समितिका ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा वडाकार्यालयहरु निर्माण भएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।
जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपाकिलाको ४० प्रतिशत रकममा वडा नं. ३, ४ र ६ वडाकार्यालय निर्माण भएको छ । वडा नं. ६ को दुई तले भवन ८६ लाखमा निर्माण सम्पन्न भएको छ भने वडा नं. ३ र ४ को ५० लाखमा निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी वडा नं. ७ को वडा कार्यालयको भवन प्रदेश सरकारको समपुरककोषबाट ५० लाख र गाउँपालिकाको ५० लाखको ३० प्रतिशत गरी जम्मा ६३ लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको छ । भवनमा ५१ लाख लागेको छ भने भवनको वरिपरि पर्खाल र गिटी माटो पुर्ने कामसहित सो बराबरको रकम लागेको हो । त्यसैगरी वडा नं. ३ को भवनमा पनि ५ लाख बराबरको माटो पुरेर गिटी लगाउने काम भएको छ ।
आव ०७६/७७ मा सुरु भएर ०७७/७८ मा सम्पन्न हुने गरी काम सुरु भएको थियो । त्यसैगरी वडा नं. ७ को भवन ०७७÷७८ मा सम्पन्न हुने गरी काम सुरु गरेको थियो ।
जग्गा दातालाई सम्मान
उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडा कार्यालयलाई निःशुल्क जग्गा प्रदान गर्ने महेश्वर खड्का र निर्मला खड्कालाई प्रमाण–पत्र र दोसल्लाह ओढाएर सम्मान गरिएको थियो ।
गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले दातालाई सम्मान गरे । महेश्वर खड्काले ३ कट्ठा र निर्मला खड्काले २ कट्ठा गरी जम्मा ५ कट्ठा जग्गा वडाकार्यालय निर्माणका लागि निःशुल्क प्रदान गरेका थिए ।