छथर जोरपाटी गाउँपालिका धनकुटाले किबी र खोर्सानी पकेट क्षेत्र प्रवर्द्धनका लागि लक्षित गरी कृषकलाई १३ लाख ८४ हजार बराबरको कृषि सामग्री शुक्रबार प्रदान गरेको छ ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किबी पकेट क्षेत्रलाई लक्षित गरेर ७ लाख ४६ हजार र खोर्सानी पकेट क्षेत्रका लागि ६ लाख ३८ हजारको कृषि सामग्री प्रदान गरेको हो । सम्पूर्ण कृषि सामग्री पहाडी कृषि समुहका अध्यक्ष दीपक गुरुङ र सल्लेरी कृषि समूहका चक्रबहादुर थापालगायत किसानको उपस्थितिमा हस्तान्तरण गरिएको छथरजोरपाटी कृषि शाखाले जनाएको छ ।

गाउँपालिकाको कृषि शाखाले किबी खेतीका लागि वडा नं. ६ को पहाडी किबी, तरकारी उत्पादक समूह र खोर्सानी खेतीका लागि वडा नं. २ को सल्लेरी कृषि समूहलाई सामग्री हस्तान्तरण गरेको छ । दुवै किसिमका खेतीका लागि ४ लाख ९५ हजारको १ हजार ६ सय ५० वटा ग्राफ्टिङ गरिएको बिरुवा पहाडी समूहलाई हस्तान्तरण गरिएको कृषि शाखाका अधिकृत मिलन कार्कीले जानकारी दिए ।

किबी रोप्नका लागि ७० हजारको २ वटा खाडल खन्ने मेसिन, २६ हजारको २ वटा डिजिटल काँटा (तराजु), २१ हजारको २१ वटा सि–केचर प्रदान गरिएको छ । १ लाख १० हजारको सिंचाइ पाइप र २४ हजारको २१ वटा स्प्रिङ कल पहाडी समूहलाई प्रदान गरिएको छ । 

खोर्सानी खेतीका लागि १ लाख ६० हजारको २ केजी खोर्सानीको बिउ, १ लाखको विषादी र भिटामिन सल्लेरी समूहलाई प्रदान गरिएको छ । १२ हजारको एउटा डिजिटल काँटा, १ लाख ८० हजारको २ वटा मिनी टिलर, ३८ हजारको ३८ थान कोदालो समेत हस्तान्तरण गरिएको छ ।

कृषकलाई २ लाखको सिंचाई पाइप, ६६ हजारको ११ थान हिलट्याङ्क, ६० हजारको ११ थान प्लास्टिक टनेल लगायत १२ हजारको स्प्रिङ कल ३० वटा र १० हजारको १० वटा पानी लगाउने हजारी पनि हस्तान्तरण गरिएको छ । 

विशेष गरेर चिसो र सिचाइयुक्त जमिनमा किबी र खोर्सानी हुने भएकाले आगामी दिनमा पनि स्थानीय किसानलाई व्यवसायिक बनाउन त्यस्ता स्थानको पहिचान गरेर थप कार्यक्रम संचालन गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।

तस्विर: पहाडी कृषि समूहका अध्यक्ष दीपक गुरुङ स्थानीय किसानलाई किबीको विरुवा प्रदान गर्दै ।