पाख्रिबास नगरपालिकाका वडा ४ का वडाध्यक्ष सोभित निरौला धरौटीमा रिहा भएका छन् ।
पाख्रिबास नगरपालिकामा गत असार १० गते नगरसभाको क्रममा विवाद हुँदा तोडफोडमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए ।
निरौलालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय धनकुटाले धरौटीमा रिहा गरेको छ । प्रशासनले वडाध्यक्ष्य निरौलालाई ४० हजार धरौटीमा रिहा गरेको हो । नगरपालिकामा तोडफोड गरेको भन्दै नगरप्रमुख वृषबहादुर राई, उपप्रमुख देवकला पौडेल, नेकपा एमाले ओली पक्षका पाख्रिबास नगर अध्यक्ष शान्तिराम गौतम लगायतले प्रहरीमा किटानी जाहेरी दिएपछि निरौलाले गएको असार १७ गते आफैंले गिरफ्तारी दिएका थिए ।
गिरफ्तारी दिएपछि स्थानीय प्रशासनको आदेशमा निरौलालाई ८ दिन हिरासतमा राखी अनुसन्धान गरेको थियो । निरौला नेकपा एमाले माधव नेपाल पक्षका पाख्रिबास नगर कमिटीका अध्यक्ष समेत हुन् ।
नगर सभा भइरहेको समयमा घटनामा संलग्न रहेको भनेर जाहेरी परेका अन्य १४ जनालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । तर, उनीहरुलाई सम्बन्धित राजनीतिक दलले आइतबार प्रशासन कार्यालयमा उपस्थित गराएर जनही ४० हजार धरौटी जम्मा गर्न लगाउने सहमति भएको राजनितिक दलले जनाएका छन् ।
रिहाइपछि वडाध्यक्ष निरौलाले जनताको पक्षमा काम गर्दा आफूविरुद्ध किटानी जाहेरी परेको र आफ्नो गल्ती नभएकाले गिरफ्तारी दिएको दाबी गरेका छन् ।