धरान उपमहानगरपालिकाले आज विनियोजन विधेयकमाथि छलफल गर्दैछ । 

हिजो बसेको नगरसभा बैठकमा आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम, आर्थिक विधेयक पारित भएको छ । आज खर्च सम्बन्धी विनियोजन विधेयकमाथि छलफल हुनेछ ।  

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित नवौं नगरसभाको दोस्रो बैठकले शुक्रबार नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गरेको हो । 

गत असार १० गते उद्घाटन भएको धरान उपमहानगरपालिकाको नवौं नगरसभा विवादका कारण स्थगित भएको थियो । 

दोस्रो पटक असार १९ गते बस्ने भनिए पनि विवादकै कारण बैठक स्थगित भएको थियो । बजेट सिलिङको विवादमा सहमति जुटेपछि हिजो शुक्रबारदेखि सुनसरी उद्योग वाणिज्य संघमा सभा बसेको छ । 

सहमति जुटेपछि आगामी आर्थिक वर्षका लागि २ अर्ब ३ करोड ६४ लाखको बजेट, नीति तथा कार्यक्रम पेश भएको नगरसभाले गति पाएको छ ।

नगर कार्यपालिकाका प्रवक्ता मणिराम राईले वडाको बजेटमा पनि सहमति जुटेर कार्यपालिकाबाट बजेट सिलिङ  पारित भएको बताए ।

आज गत असार १५ गतेसम्म नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि बोल्न नाम टिपाएकाहरुले बोल्ने कार्यक्रम रहेको छ ।