विवादका कारण स्थगित गत असार १० गते उद्घाटन भएको धरान उपमहानगरपालिकाको नवौं नगरसभा आज बस्ने भएको छ ।
दोस्रो पटक असार १९ गते बस्ने भनिए पनि विवादकै कारण बैठक स्थगित भएको थियो । बजेट सिलिङको विवादमा सहमति जुटेपछि आजै सुनसरी उद्योग वाणिज्य संघमा बस्ने तयारी भइरहेको छ ।
हिजो र आज बिहान बसेको कार्यपालिका बैठकमा सहमति जुटेपछि आगामी आर्थिक वर्षका लागि २ अर्ब ३ करोड ६४ लाखको बजेट, नीति तथा कार्यक्रम पेश भएको नगरसभाले गति पाएको छ ।
नगर कार्यपालिकाका प्रवक्ता एवं वडा २० का अध्यक्ष मणिराम राईले वडाको बजेटमा पनि सहमति जुटेर कार्यपालिकाबाट बजेट सिलिङ पारित भएको बताए ।
उनका अनुसार मेयर कोषको लागि प्रस्ताविक बजेटमध्ये २० लाख कटौती भएको छ भने एकीकृत शहरी विकास आयोजना शीर्षकमा १ करोड ५० लाख छुट्याइएको छ ।
यसअघि मेयर कोषमा १ करोड २० लाख प्रस्ताव गरिएको थियो भने आयोजनाको लागि बजेट प्रस्ताव नै गरिएको थिएन ।
वडाका योजनाहरुलाई नगरस्तरीयमा केन्द्रित गरेको भन्दै वडाध्यक्षहरुमा असन्तुष्टि थियो भने म्याद गुज्रिसकेको एकीकृत शहरी विकास आयोजना अन्तर्गत चारकोशे जंगलमा खनिएको थप २ वटा ‘वेल’को भुक्तानी दिनुपर्ने रकमबारे समेत विवाद थियो ।