वराहक्षेत्र नगरपालिका पहलमा संघीय सरकारले भौतिक पूर्वाधार निर्माणका लागि विभिन्न योजनामा बजेट विनियोजन गरेको छ ।
वराक्षेत्रको वडा नं. ६ चक्रघट्टी र वडा नं. १० प्रकाशपुरलाई स्मार्ट सिटी निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न डिपिआर शुरु गरिने सूचना अधिकृत पुकार पोखरेलले जानकारी दिए ।
वराहक्षेत्र नगरको गौरवको योजनाअन्तर्गत निर्माण शुरु भएको लिंक रोड निर्माणदेखि कालोपत्रे गर्ने विभिन्न योजनामा संघीय सरकारले बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८।७९ मा वराहक्षेत्र ३ को बांगेदेखि नडाहा हुँदै धरान सडक कालोपत्रे हुनेछ । वराहक्षेत्र १ दुर्वाशा तथा छिन्नमस्ता लिंक रोड घाट जाने सडक निर्माणमा बजेट विनियोजन भएको छ ।
रामधुनी ४ को सीमाना कुटीबाट वराहक्षेत्र ४ दुव्याही, मुसहरी टोल, कौवाखोज नयाँ पुल, खोरिया जम्टोकी तीन कुने लिंक रोडको कालोपत्रे गर्ने कार्यको शुरुवात हुँदैछ ।
माथिल्लो जम्टोकीदेखि नयाँ पुलसम्मको सडक कालोपत्रे गर्ने कार्यको शुरुवात हुँदैछ । वराहक्षेत्र ४ को सुनसरी खोलादेखि वडा नं. ५ को तीनकुनेसम्म क्रमागत सडक कालोपत्रे गर्ने कार्य शुरुवात हुँदैछ ।
चक्रघट्टी महेन्द्रगेट हुँदै चतरा जाने सडकको कालोपत्रे गर्ने कार्यको लागि प्रदेश तथा संघीय सरकारलाई आर्थिक वर्ष २०७८।७९ मा समेत निरन्तर प्रस्ताव र पत्राचारलाई निरन्तरता दिइरहेको नगर प्रमुख निलम खनालले जानकारी दिए ।
‘आर्थिक वर्ष २०७८।७९ को बजेटको तयारीमा जुटेका छौं, नगरलाई विकसित बनाउने अभिभारा हाम्रा काँधमा छ,’ नगर प्रमुख खनालले भने, ‘यस अभिभारा पूरा गर्न नगरवासीको साथ र सहयोगको अपेक्षा गर्दछु ।’