वराहक्षेत्र नगरपालिकाको वडा नं. २ ले चालु आर्थिक वर्षमा मन्दिर, विद्यालय, सामुदायिक भवन र अधुरा ड्रेनहरुमा बजेट विनियोजन गरी भौतिक निर्माण सम्पन्न गरेको छ । 

अधिकांश भौतिक निर्माण नेपाल सरकार समानीकरण अनुदानअन्तर्गत नगरस्तरीय योजनाबाट सम्पन्न भएको छ । सम्पन्न भएका ११ वटा योजनाहरु मध्ये ६ वटा नगरस्तरीय योजना छन् । 

३ वटा योजना सम्झौता भई रनिङ बिल भुक्तानी भइसकेको छ भने ९ वटा योजनाहरु कार्यादेश स्वीकृत भइसकेको छ । 

किरात राई यायोक्खा साकेला पार्क निर्माणमा नगर स्तीय योजनाअन्तर्गत १० लाख रुपैयाँ विनियोजन भई सम्झौताअनुसार रनिङ बिल भुक्तानी भएको छ । पुतली लाइन बाटो निर्माण र पुल्ठेगौंडा हुँदै माझी टोलसम्म बाटो ग्रावेलका लागि समेत रनिङ बिल भुक्तानी भएको छ ।  

स्वीकृत कार्यादेशमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत १७ आरडी, २० आरडी, १३ आरडी– रेल्वेलाइन सिचाइ योजनाका लागि १३ लाख ९१ हजार ६ सय रुपैयाँ विनियोजन भएको छ ।

आदर्श मावि जाने भित्री बाटो ग्रावेलिङ, वराह भजन मण्डलीको अधुरो भवन निर्माण, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, मधेशी टोल भूमिगत सिंचाइ योजनासम्मको बाटो ग्रावेलिङ, बिहीबारे हटिया व्यवस्थापनका लागि बाटो विस्तारलगायतका योजनामा बजेट विनियोजन भई कार्यादेश स्वीकृत भएको  छ । 

वडा नं.  २ का अधिकांश योजनाहरु भौतिक निर्माणसँग रहेपनि सडक कालोपत्रेका लागि बजेट विनियोजन नभएको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् । नगर र वडा जोड्ने लिंक रोडहरुमा समेत स्तरीय सडक निर्माण नभएको वडा नं. २ वासीको गुनासो छ । वडाका पुनर्बास, रेल्वेलाइन, हाटखोला, बयरवनका भित्री सडक जीर्ण अवस्थामा रहेको र नगरपालिका उदासिन रहेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

barahakshetra_wada2_Harikrishna_Bhattarai