भद्रपुर / वडा कार्यालयले पशुको बिमा गराइदिएपछि झापा शिवसताक्षी नगरपालिका–६ का कृषकहरू खुसी भएका छन् ।
वडाध्यक्ष मनोज खुलाल कार्कीले पशुपालनमा प्रोत्साहन र वडाका बासिन्दाको आयआर्जन वृद्धि गराउन राहतका कार्यक्रम ल्याएपछि कृषक खुसी भएका हुन् ।
वडाले सार्वजनिक सूचना प्रकाशित गरेर ‘एक घर एक पशु बिमा’ कार्यक्रममा सहभागी हुन वडाका बासिन्दालाई आह्वान गरेको छ । वडामा ‘एक घर एक पशु बिमा’ कार्यक्रम लागू गरिएको छ । वडाले चौपायाको बिमा गरिदिएकाले अब पशुपालन सुरक्षित भएको महसुस भएको कृषक ओमप्रकाश गुरुङले बताए ।
वडाका १ सय ६० घरपरिवार पशु बिमामा सहभागी भएको वडाध्यक्ष खुलालले बताए ।
सहभागी भएकामध्ये कृषकले गाई, भैंसी, बाख्रा, बङ्गुरलगायत पशुको बिमा गरेका छन् । पशुको बिमा गरेबापत लाग्ने शुल्क वडा कार्यालयले बिमा कम्पनीलाई भुक्तानी दिएको उनले जनाए । पशु प्राविधिकको सिफारिसमा १ लाख मूल्यको भैंसीको बिमा गरेको शर्मिला विकले बताइन् । वडाको ठगबस्तीका अधिकांश कृषकका घरमा उन्नत जातका गाई पालन गरेका छन् ।
वडाले कृषकलाई कुरा बुझाएर बिमा गरिदिएपछि वडाको योजना निकै फलदायी भएको भानुभक्त निरौला बताउँछन् । पशुको बिमा एनएलजी कम्पनीले गरिरहेको छ ।
कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले भने, ‘वडाका १ सय ६० पशुको बिमा भएको छ ।’ पशुको स्वास्थ्य परीक्षण स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरेको वडा कार्यालयले जनाएको छ ।
यस कार्यक्रमका लागि वडाले चालु आर्थिक वर्षमा १ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
वडाध्यक्षसहित पशु बिमाका लागि बिमा कम्पनी किसानको गोठगोठमा पुग्ने गरेको छ । घरघरै पुगेर वडाले आफ्ना नयाँ कार्यक्रमबारे जानकारी गराउन थालेपछि कृषक पनि पशु बिमाप्रति आकर्षित हुन थालेको वडाध्यक्ष खुलालले बताए । पशु बिमा गरेपछि एक वर्षभित्र पशु मरेमा बिमाङ्कको ९० प्रतिशत रकम कम्पनीले भुक्तानी गर्छ ।
बिमा गरेका पशु दुर्घटना, रोग तथा महामारीबाट मरेको खण्डमा बिमा कम्पनीले घरमै पुगेर दाबी भुक्तानी दिने कम्पनीका एनएलजी कम्पनीका प्रतिनिधि नेपालले बताए । पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न, नश्ल सुधार गर्न, वडालाई दूध, दही, मोहीमा आत्मनिर्भर बनाउनका लागि वडामा बिमा कार्यक्रम सञ्चालन गरिएको खुलालले जानकारी दिए ।