धार्मिक पर्यटकीय स्थलहरुको बाहुल्यता रहेको वराहक्षेत्र नगरपालिकाको वडा नं. १  ले चालु आर्थिक वर्षमा दर्जन बढी भौतिक योजना तथा निर्माण कार्य सम्पन्न गरेको छ । 

भौतिक निर्माणतर्फ वडा र नगरस्तरीय बजेट गरी १३ वटा योजना सम्पन्न भएको छ । जसको  कुल राशि ६१ लाख ४९ हजार रहेको छ । 

वडाले सार्वजनिक शौचालयदेखि बाटो स्तरोन्नति, नयाँ ट्रयाक खोल्ने, नाला, कल्भर्ट र ड्रेन निर्माण गर्ने, खानेपानी योजना मर्मत सम्भार, विद्यालयको गेट निर्माण, चौतारा र भित्री बाटाहरुको स्तरोन्नति गरेको छ । 

वडाका लागि नगरस्तरीय योजनाबाट २८ लाख ४९ हजार बजेट विनियोजन भएको थियो । अन्य योजना वडास्तरबाट सम्पन्न भएका छन् । 

नेपाल सरकार समानीकरण अनुदान अन्तर्गत नगरस्तरीय बजेटबाट चतराघाट सार्वजनिक शौचालयका लागि २ लाख ९९ हजार विनियोजन भएको थियो । यस्तै लालबस्ती नाला निर्माणका लागि नगर स्तरीय योजनाबाट १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

यसै गरी चालु आर्थिक वर्षमा वडा नं. १ मा औलिया मठदेखि चतरा बसस्टेण्डसम्म ड्रेन र कल्भर्ट निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन भई रनिङ बिल भुक्तानी भएको छ । 

नगरस्तरीय योजनाबाटै राधाकृष्ण संस्कृत वेद विद्याश्रमको गेट मर्मत गर्न ५० हजार विनियोजन भई कार्यादेश स्वीकृत भएको छ ।

२ वटा योजना भने सम्झौता हुन बाँकी छन् ।

barahakshetra-1_Suresh_Shrestha