धनकुटा । काभिड महामारीको संक्रमण दर तिब्र रुपमा वढी रहे पनि जिल्ला प्रशासन कार्यालय धनकुटाले निषेधाज्ञा केही खुकुलो बनाएको छ । 

जिल्लाभर बिहीबार मध्य रातिदेखि आगमी असार ११ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको छ । निषेधाज्ञाको अवधी आगामी असार ११ गतेसम्म थप गरिए पनि बजार क्षेत्रमा सबै खाले पसलहरु भने हरेक दिन १ बजेसम्म खुल्ला गर्न पाउने भनिएको छ । साँझमा भने कुनै पनि पसलहरु खोल्न पाईने छैन । यस अघि भने हरेक दिन विहान ७ बजे देखी ११ बजेसम्म बिहान मात्र पसल खोल्न पाउनु भनिएको थियो ।  

कोरोना संक्रमण समुदायस्तरमा तीव्र बन्दै गएपछि प्रशासनले गत बैशाख २० गतेदेखि निषेधाज्ञालाई निरन्तरता दिँदै आएको छ । गएको जेठ २६ गते देखिको अवधि सकिएपछि पुनः बिहीबार मध्य रातदेखि ८ दिनका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एक सार्वजानिक सूचना जारी गर्दै जानकारी का छन् ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले निषेधाज्ञा आदेशको निर्णय गरेको हो । यसपटक निषेधाज्ञालाई केही खुकुलो पारिएको छ । विगतमा निषेधाज्ञाको समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म खुला गरिएको थियो ।

तर उक्त समय अवधीलाई संशोधन गरेर हरेक दिन बिहान ६ देखि दिउँसो १ बजेसम्म कायम गरिएको प्रशासनले जनाएको छ । दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री, फोहर बोक्ने सवारी साधन, एम्बुलेन्स, प्रेसका साधनलाई सञ्चालनमा दिइने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन गरिने निर्णय गरिएको छ । जस्ले गर्दा उपभोक्तालाई अतिआवश्याक सामग्रीहरु खरिद गर्न वा आवश्याक परेको स्थानसम्म पुगेर आफ्नो काम सम्पन्न गर्न केही सहज भएको छ ।

तथापी पनि संक्रमण दर घटाउन भिडभाडलाई भने कम गर्ने तर्फ भने स्थानिय प्रशासनले बैंक तथा वित्तीय संस्था किराना पसल, सव्जी पसल, सपिङ कम्प्लेस आदीमा निगरानी गर्न जरुरी रहेको देखिन्छ ।