उदयपुरको बेलका नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका लागि ‘अक्सिजन प्लान्ट निर्माण सम्झौता’ गरेको छ । निर्माण कम्पनी पिडी इन्जिनियरिङ प्रालि काठमाडौं र बेलका नगरपालिका बीच आइतबार सम्झौता भएको हो ।

नगरका तर्फबाट नगर प्रमुख दुर्गाकुमार थापा र निर्माण कम्पनीका तर्फबाट धर्मराज पौडेलले सम्झौतामा हस्ताक्षर गरे । हस्ताक्षरपछि पहिलो किस्तावापत् नगरपालिकाले निर्माण कम्पनीलाई ५८ लाख ५० हजार नगद भुक्तानी गरेको छ । 

दैनिक ३८ सिलिन्डर (११ सय ५० मिटर क्युबिक प्रतिघन्टा) उत्पादन क्षमता रहेको अक्सिजन प्लान्ट जडान हुने छ । 

उदयपुरका ८ वटा स्थानीय तहका ४ नगरपालिकाबाट १० लाखका दरले रकम संकलन गरिएको छ । त्यस्तै गाउँपालिकाबाट ५ लाख, प्रदेश २ को सप्तकोशी नगरपालिका र विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको नगर प्रमुख थापाले जानकारी दिए ।

निर्माण कम्पनीका म्यानेजिङ डाइरेक्टर पौडेलले सम्झौता अगावै प्लान्ट निर्माणको कार्य सम्पन्न गरेर नगरलाई हस्तान्तरण गर्ने बताए । 

अक्सिजनको चरम अभावका कारण पछिल्लो समय कोरोना संक्रमितलाई बचाउन समस्या भइरहेको छ । नगरपालिकाले ‘अनमोल प्राण वायु, अभावमा नजाओस् कसैको आयू’ भन्ने नाराका साथ अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । बेलकामा अक्सिजन प्लान्ट स्थापना भएपछि उदयपुरसँगै सुनसरी, सप्तरी, सिराहा, भोजपुर, खोटाङलगायतका जिल्लामा समेत आपूर्ति गर्न सकिने विश्वास लिइएको छ । 

agrement belaka1

agrement belaka2