निषेधाज्ञामा विकास निर्माणका कामलाई बाधा परेन । खोला उत्खनन्देखि भौतिक निर्माणका काम निर्बाध भए । निषेधाज्ञा श्रमजीवि मजदूरदेखि ज्यालादारीलाई अभिशाप बन्यो तर कतिका लागि यो अवसर सावित भयो । विध्वंश र नवनिर्माण दुवैलाई निषेधाज्ञा मौका बन्यो ।
बिग्रिएका बाटाघाटा, राजमार्ग, लोकमार्ग बनाउन स्थानीय सरकारलाई बाटो खुल्यो । सामाजिक संघसंस्थाले सडक संकेत, चिह्न र जेब्राक्रस बनाए । धरान १७ चतरामार्गमा पर्ने गोधुली एरियाका स्थानीय सडकका खाल्डाखुल्डी मर्मत गर्दै गरेको देखिए । गोधुली फुटबल क्लबका उपाध्यक्ष सतिश केसी हातमा करनी बोकेर सडक टालटुल गर्दै थिए ।
‘लकडाउनको बेलामा घर अगाडि खाल्डाखुल्डीलाई पुर्नुपर्यो भनेर दाईहरु, यहाँ भाइहरुसँग सल्लाह गरेर पुर्नु लागेको ।’ क्लबका उपाध्यक्ष केसीले खाल्डामा सिमेन्ट भर्दै भने, ‘हामी यहीं गोधुली एरियाकै सबैजनाको पहलमा गरेको हो ।’
धरान उपमहानगरपालिका जनसहभागितामा आधारित आवासीय शहर हो । यहाँका स्थानीय पहिले जनश्रमदानका लागि तयार हुन्छन् त्यसपछिमात्रै सरकारलाई गुहार्छन् । धरान प्रायः सडक जनसहभागितामा निर्माण भएका छन् । धरान उपमहानगरको ६० प्रतिशत लगानी र स्थानीयको ४० प्रतिशत लगानी लाग्ने गरेको छ ।
त्यसैले पनि सडक प्रत्येक नागरिकले सडकको माया गर्छन् । ‘आँगन र सडक उस्तै हो हाम्रो लागि, यो हाम्रो सुन्दरता हो,’ स्थानीय मीन सुनुवारले भने, ‘बेलाबेलामा नगरपालिकाले पनि हेर्दै गर्नुपर्छ, रत्नचोकदेखि रेल्वेसम्म खाल्डाखुल्डी छ, यो लकडाउनमा बनाएको भए पनि हुन्थ्यो ।’
खाल्डाखुल्डीका कारण यो क्षेत्रमा धेरै दुर्घटना भइरहेको स्थानीय बताउँछन् । चतरा मार्गको बीचघोपामा प्रायः दुर्घटना भइरहन्छ । यही क्षेत्रमै धेरै खाल्डाखुल्डी रहेको स्थानीय बताउँछन् ।
निषेधाज्ञामा धरान १७ कै पटनाली र वराहक्षेत्रको वडा नं. १ मा पर्ने बगुवा क्षेत्रका पनि स्थानीयले पनि आफ्नै लगानीमा सडक मर्मत सम्भार गरे । सडकका खाल्डाखुल्डी स्थानीयले आफैं टाले । स्थानीय सरकार भने आफूले ठेक्का लगाएका खोलामा अवैध दोहन भइरहँदा पनि बोलेनन् ।