धरान १८ का वडाध्यक्षको पहलमा धरान, वराहक्षेत्र र पाथीभरा याङ्वरकका लागि युकेबाट २७ लाखको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको छ ।
युकेमा बसोबास गरिरहेका देउकुमारी राई र उनका श्रीमान् गंगा लिम्बूले प्रदान गरेको स्वास्थ्य सामग्री नेपाल आइपुगेको हो । यस्तै काठमाडौंस्थित सामाजिक संस्था बोधिसत्व विहार बुढानिलकण्ठबाट बुनु लिम्बूको संयुक्त सहयोगमा २७ लाख ६५ हजार नेपाली मूल्य बराबरको सामग्री आइपुगेको हो ।
धरान उपमहानगरपालिका, धरान १८ वडा कार्यालय, वराहक्षेत्र चतरास्थित प्राथमिक स्वास्थ्य केन्द्र, र ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका पठाइएको वडाध्यक्ष प्रवीण राईले जानकारी दिए । वडाध्यक्ष राईले मंगलबार धरान उपमहानगर परिषरमा नगरप्रमुख तिलक राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
प्राप्त स्वास्थ्य सामग्री उपमहानगरका प्रमुख तिलक राईले प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई स्थानीय सञ्चारकर्मी हिमाल राईमार्फत् स्वास्थ्य सामग्री प्रदान गरे । चतरा प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको सामग्रीमा ३ थान अक्सिजन कन्सन्ट्रेटरलगायत पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, फेससिल्ड, केएननाइनफाइभ सिल्ड, पीप्याप सेट, सीप्याप सेटसहितका स्वास्थ्य सामग्री छन् ।
यस्तै पाथीभरा याङ्वरक नाङखोलेङ स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र ताप्लेजुङलाई अहेब मुकुन्द दाहालमार्फत् स्वास्थ्य सामग्री प्रदान गरिएको छ । धरान १८ लाई र धरान उपमहानगरपालिकालाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
स्वास्थ्य सामग्री वरिष्ठ पत्रकार हर्ष सुब्बा, समाजसेवी विनोद राईलगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।