इनरुवा / सुनसरीमा जेठ ३१ गते सम्म निषेधाज्ञा थप भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले निषेधाज्ञा थप गरिएको बारेमा जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई जेठ ३१ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो ।
प्रजिअ ढकालले निषेधाज्ञाले कोरोना भाइरस फैलन रोकेपनि जोखिम भने कायमै रहेको हुँदा निषेधाज्ञा थपको निर्णय लिइएको बताए ।
ढकालले जिल्लामा संक्रमण दर घट्दो क्रममा रहेको अवस्थामा तत्कालै निषेधाज्ञा हटाउनु वा खुकुलो पार्नु जोखिम हुन सक्ने भएकाले थपको निर्णयमा पुगिएको बताए ।
प्रजिअ ढकालले यो महिना भरको निषेधाज्ञाले जिल्लाको हकमा संक्रमण दर न्यून पार्न निकै मद्यत पुग्नेसमेत बताए।
प्रजिअ ढकालले थप भएको अवधिमा यस अघि गरिएका निर्णय कायमै रहने जनाएको छ । उनले बिकास निर्माणका कार्य निर्वाध संचालन गर्न दिने र कामदार र मजदुरको हकमा आवतजावतमा सहजिकरण गरिने जानकारी दिएको छ ।