वराहक्षेत्र नगरपालिकाले नगरका अति विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।
स्वास्थ्यअन्तर्गतको निशर्त अनुदानबाट नगरका ११ सय घरपरिवारलाई बिमा गरिने नगर प्रमुख निलम खनालले जानकारी दिए ।
चालु आर्थिक वर्षमा विनियोजित ३८ लाख ५० हजार रकमबाट वराहक्षेत्र नगरपालिकामा स्थायी बसोबास गरिरहेका अतिविपन्न परिवारलाई स्वास्थ्य बिमा गरिने छ ।
स्वास्थ्य बिमा गरिदिने प्रयोजनका लागि प्रत्येक वडाबाट एक सय घर परिवार अतिविपन्न घरपरिवारको तथ्यांक नगरपालिकामा पठाउन सबै वडालाई पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेलले जानकारी दिए ।
नेपाल सरकारले २०७२ चैत्रदेखि २५ गतेदेखि नागरिकको स्वास्थ्य बिमा गर्दै आएको छ । स्वास्थ्य बिमाका लागि पाँच जनाको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस वापत् वार्षिक १ लाख रुपैयाँसम्मको सेवा पाइन्छ ।
परिवारमा ५ जनाभन्दा बढी सदस्य रहेको हकमा प्रतिसदस्य अतिरिक्त ७ सय रुपैयाँ तिर्नुपर्ने नियम छ ।
वराहक्षेत्र नगरपालिकाले ११ सय अतिविपन्न घरपरिवारको सम्पूर्ण रकम तिरेर स्वास्थ्य बिमा गरिदिन लागेको हो ।
२०५८ सालको जनगणनाअनुसार वराहक्षेत्र नगरपालिकाको जनसंख्या ७७ हजार ४ सय १० रहेको छ ।