देशभरी अक्सिजनको हाहाकार भएका बेला सुन्दरहरैंचास्थित स्थानीय सरकारले अक्सिजनको जोहो गर्दै आएको छ ।    

कोरोनाको कहर बढ्दै गएको र बिरामीलाई अस्पतालमा अक्सिजनको चरम अभाव देखिएपछि मोरङको सुन्दरहरैंचाले संकलन कार्यलाई तीव्रता दिएको हो । नगरले संकलनको जिम्मा निजी क्षेत्र उद्योग वाणिज्य संघलाई दिएको थियो ।  नगरपालिकामा रहेका सुन्दरहरैंचा र सुन्दरदुलारी उद्योग वाणिज्य संघले सक्रियताका साथ अहिले नगरका विभिन्न उद्योग तथा व्यक्तिगत प्रयोजनका लागि राखिरहेका खाली अक्सिजन सिलिन्डर संकलन गरिरहेका छन् । 

सुन्दरहरैंचा उद्योग वाणिज्य संघले ५३ वटा अक्सिजन सिलिन्डर संकलन गरी नगर प्रमुख शिवप्रसाद ढकाललाई हस्तान्तरण गरेको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले जानकारी दिए । 

यस्तै शनिबारदेखि सुन्दरदुलारी उद्योग वाणिज्य संघले सिलिण्डर संकलन कार्यलाई अघि बढाएको छ । अक्सिजन प्रयोग हुने व्यवसाय बन्द भएकाले केही कठिनाइ भए तापनि १५ वटा सिलिन्डर संकलन गरिएको अध्यक्ष किशोर कार्कीले बताए । उनले आइतबार समेत संकलन गरी एकै पटक नगरपालिकालाई जिम्मा लगाउने तयारी रहेको समेत जानकारी दिए ।  

प्राप्त सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिडका बिरामीलाई उपलब्ध गरिने नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर घिमिरेले बताए ।