कोरोना भाइरसको सङ्क्रमण बढेपछि गएरातिबाट मोरङमा जारी भएको निषेधाज्ञाको पालना भए–नभएको सन्दर्भमा आज जिल्लाको पथरी शनिश्चरे नगरमा अनुगमन् गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट बास्तोलाको अगुवाइमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, वरिष्ठ उपाध्यक्ष विजय डाँगीसहितका प्रतिनिधि, इलाका प्रहरी कार्यालय र नगर प्रहरीका सुरक्षाकर्मीहरुबाट बिहान पथरी बजार क्षेत्र अनुगमन् गरिएको हो ।
सरकारले तय गरेको पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर तोकेको समयभित्र मात्र तोकिएका अत्यावश्यकीय पसल सञ्चालन भए–नभएको तथा अन्य पसल, यातायात तथा मानिसहरुको हिँडडुलको अवस्थालाई रोक्न अनुगमन् गरिएको छ ।
व्यवसायीहरुले अनिवार्य मास्क लगाउने र सेवाग्राहीलाई मास्क लगाउन लगाउने, आफ्नो पसल अगाडि कम्तिमा डेढ मिटरको दूरी कायम गराउने, साबुन पानी र सेनिटाइजर राख्ने जस्ता सुझावसहित पथरी बजार तथा सब्जी बजार क्षेत्र अनुगमन गरिएको उपप्रमुख बास्तोलाले जनाइन् । तोकिएको समयमा तोकिएका पसल बाहेक बजार बन्दकै अवस्थामा रहेको छ ।
फलफूल, सागसब्जी, खाद्यान्न, खाना पकाउने ग्यास, खानेपानी, माछामासु, दूध, पशु आहारा, दाना ओसार–पसार तथा बिक्री वितरणसहितका अत्यावश्यक वस्तुहरु सरकारले तोकेको पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर बिहान ६ बजेदेखि बिहान १० बजेसम्म बिक्री वितरण गर्ने निर्णय भएको छ ।
साथै सो समयमा निर्माण सामग्री पसल सञ्चालन तथा ओसार–पसार, औजार उपकरणको ढुवानी तथा ढुंगा, गिट्टी, बालुवा बोक्ने टिपर बिहान ६ देखि १० र बेलुका ६ देखि ८ बजेसम्म सञ्चालन गर्न पाइने प्रावधान बनाइएको छ । कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि कानून बमोजिम कारबाही गरिने छ ।
अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, सञ्चार, खानेपानी, बैंक तथा वित्तीय संस्था, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, तरकारी, फलफूल, पशु आहारा, दूधसहित सबै किसिमका कृषिजन्य सामग्री, इन्धन, औषधि, एम्बुलेन्स तथा बिरामी बोकेका गाडी, शव वाहन, पत्रकार र सरकारी नम्बर प्लेटका गाडी बाहेक अन्य यातायातका साधन सञ्चालन गर्न नपाइने उल्लेख छ ।
विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, होटल तथा रेस्टुरेन्ट, सैलुन, ब्युटिपार्लर, गुद्री बजार, सब्जीमण्डी, स्वीमिङ पुल, सिनेमा हल, जिमखानासहित अन्य व्यायामशाला, खेलकुदस्थल बन्द रहने तथा सरकारी कार्यालय तथा संस्थानहरुले आलोपालो गरी न्युनत्तम कर्मचारी राखी अत्यावश्यक सेवा सञ्चालन गर्ने पनि निर्णय भएको छ ।
यस प्रकारको निर्णय विपरीत काम भएमा कानूनबमोजिम कारबाही हुने समेत उल्लेख भएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यस प्रकारको निषेधाज्ञा तत्काललाई वैशाख २४ गते राती १२ बजेबाट जेठ १ गते राती १२ बजेसम्मका लागि जारी गरिएको जानकारी दिए ।
पथरीशनिश्चरेमा हालसम्म १९ जनामा कोरोना सङ्क्रमण देखा परेकोमा ६ जना अस्पतालबाट घर फर्किसकेका छन् ।