सुनसरी, उदयपुर र सप्तरीको बीचमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्ष पर्यटकीय स्थलमध्येको अब्बल हो । यसको गणना नेपालमा मात्र होइन, विश्वका कुनै पनि सिमसार क्षेत्रको रूपमा हुँदै आएको छ । सिमसार भएपछि जैविक विविधताले भरिपूर्ण भन्ने बुझिन्छ । जैविक विविधताले भरिएको कोशीटप्पुको विशेषता अनेक छन् । चराहरूको राजधानी पनि हो यो । विशेषगरी उत्तरी ध्रुवसँग टाँसिएको रुसको साइबेरियाबाट पाहुना चराहरू सबैभन्दा बढी आउने गरेका छन् कोशीटप्पुमा । यहाँ अनेक प्रजातिका चराहरू देख्न पाइन्छ । अर्ना, अर्को गहना हो कोशीटप्पुको । विश्वमै लोप हुन लागेको अर्नाको प्रजाति कोशीटप्पुमै देख्न पाइन्छ । जङ्गल सफारी, सिमसारको अवलोकन, चराहरूको चिर्बिराहट, अर्नाको बुर्कुसी त रमाइलो पक्ष भए । ती बाहेक पाँच सयभन्दा बढी प्रजाति बस्ने साझा घर बनेको कोशीटप्पु घुम्न मन नपराउने पर्यटक विरलै होलान् । विकसित मुलुकहरूले विदेशी पर्यटक तानेर विदेशी पैसा तान्नका लागि र स्वदेशी पर्यटक आकर्षित गर्न अनेक उपाय गरेर कृत्रिमरूपमा बनाएका पर्यटकीय स्थल छन् । कतै एड्भेन्चर स्काइ वाकर, कतै सिसैसिसाको अग्लो पुल, कतै बडेमानको मूर्ति त कतै ट्रेल, कतै म्युजियमजस्तो लाग्ने सुन्दर ठाउँ बनाएका छन् । डिज्नील्याण्ड र ओसनपार्क कृत्रिम पर्यटकीयस्थलका उत्कृष्ट नमूना हुन् । यस्तै बुद्धले कहिल्यै नटेकेको वा नदेखेको ठाउँ भए पनि चीन र उसको स्वायत्त मुलुक हङ्कङमा पहाड जत्रै बुद्धको प्रतिमा बनाउनु, टेन थाउजेण्ड बिगबुद्धको प्रतिमा बनाएर पर्यटक आकर्षित गर्नु पनि कृत्रिम उपाय गरेर मुलुकको आर्थिक उपार्जनमा टेवा दिनु नै हो । यसरी कृत्रिमरूपमा पर्यटकीयस्थल निर्माण गर्दा सरकारको करोडौं रुपैयाँ खर्च हुन्छ । यति धेरै खर्च गर्ने ल्याकत नेपालसँग छैन । तर, कोशीटप्पु जस्तो प्रकृतिले दिएको पर्यटकीयस्थलमा केही व्यवस्थापकीय सुधार र प्रचार–प्रसार, आउने पर्यटकका लागि सुरक्षा, बसाइ र सफाइमा ध्यान दिनसके विश्वका जुनसुकै मुलुकका पर्यटक आउन सक्ने सम्भावना भने कहिल्यै मर्दैन । 

माथि नै भनिसकिएको छ, कोशीटप्पु प्रकृतिले वरदानको रूपमा दिएको आफैमा सुन्दर, प्राकृतिक रमणीय र जैविक विविधतायुक्त पर्यटकीय स्थल हो । जैविक विविधताको विषयमा अध्ययन अनुसन्धान गर्न चाहने प्राज्ञिकहरूका लागि खुला विश्व विद्यालय पनि हो । यद्यपि पछिल्लो समयमा कोरोनाको बहानाले त्यहाँ पर्यटन प्रवद्र्धन हुन सकेको छैन । कोरोना महामारी नै नहुँदा पनि आर्थिक वर्ष २०७६÷०७७ मा लकडाउन हुनुअगाडिसम्म १० हजार ८ सय २५ जना नेपाली, १९ जना सार्क मुलुकका र थप १ सय ७० जना गरी ११ हजार १४ जना पर्यटकले कोशीटप्पु भ्रमण गरेको तथ्य छ । ती पर्यटकहरूले कोशीटप्पुको अवलोकन गरेबापत ४० लाख ४४ हजार २ सय ४५ रुपैयाँ राजस्व असुली भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको तथ्याङ्क छ । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपश्चात् अघिल्लो आर्थिक वर्षको चैतदेखि जेठमहिनासम्म कोही पर्यटक कोशीटप्पु आएनन् भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म दुईहजार ५३ जना पर्यटकले कोशीटप्पु भ्रमण गरेका छन् । कोरोनाका कारण पछिल्लो समयमा आन्तरिक पर्यटकहरूमात्र आएको तथ्याङ्क कोशीटप्पुसँग छ । आर्थिक वर्ष २०७५÷०७६ मा आन्तरिक, सार्क र विदेशी गरी १४ हजार ७ सय १२ जना पर्यटकले कोशीटप्पु भ्रमण गरे । ती पर्यटकहरूबाट ५६ लाख ९९ हजार ८१ रुपैयाँ राजस्व असुली भएको तथ्याङ्क छ ।

यो तथ्याङ्कको विश्लेषण गर्दा कोशीटप्पुमा जति पर्यटक आउनु पर्ने हो, त्यसको थोरै अंशमात्र आएका देखिन्छन् । उदाहरणका लागि हङ्कङको लान्ताउ टापुमा बनाएको बिगबुद्ध हेर्नलाई मात्र दैनिक १० हजार स्वदेशी र विदेशी पर्यटक पुग्छन् र दैनिक करोडौं हङ्कङ डलर आम्दानीको रूपमा हङ्कङ सरकारको राजस्वमा जान्छ । कृत्रिम पर्यटकीय स्थलमा त यति धेरै पर्यटकको धुइरो लाग्छ भने प्राकृतिक र रमणीय पर्यटकीयस्थलमै किन आन्तरिक र विदेशी पर्यटकको धुइरो लाग्न नसकेको होला ? यी प्रश्नको उत्तर खोज्दै कोशीटप्पु वन्यजन्तु आरक्षलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउनु जरुरी छ । चरा हेर्न आइहाल्छन्, अर्ना हेर्न आइहाल्छन् वा सिमसारको मजा लिन आइहाल्छन् भन्ने परम्परागत सोच राखेर बस्ने हो भने आउन सक्ने पर्यटक पनि अन्तैतिर जान सक्छन् । अहिले कोरोना महामारीले पर्यटनको माहौल छैन भनेर निधारमा हात राखेर बस्नुभन्दा केही समयपछि कोरोना महामारीको अन्त्य हुन्छ, त्यसपछि फेरि पर्यटकको धुइरो लगाउनका लागि आजैदेखि पर्यटन व्यवसाय र पर्यटन प्रवद्र्धन सम्बन्धी विज्ञको राय लिएर भएका पूर्वाधारमा थोरैमात्र भए पनि लेपन लगाउनु पर्छ । अनि मात्र दैनिक दशौं हजार आन्तरिक र विदेशीले कोशीटप्पुको रसपान गरेर आनन्दित भएबापत वार्षिक करोडौं रुपैया राजस्वको रूपमा सङ्कलन हुनसक्छ । त्यही सोच राखेर पर्यटन प्रवद्र्धन गर्न पर्यटन बोर्डले टालटुले भत्ता असुल गर्ने मात्र नभएर सार्थक भूमिका खेल्नु जरुरी छ ।