नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता भएको अढाई वर्षपछि जनादेशको अपमान गर्दै दुई टुक्रामा विभाजित भएको छ । मङ्गलबारको घटनाक्रम हेर्ने हो भने नेकपा विभाजनपछिका दुई समूहले गरेका गतिविधि संसारलाई रमित लाग्ने खालका छन् । दुई अध्यक्ष रहेको नेकपामा एक अध्यक्ष केपी शर्मा ओलीको समूहले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर आफ्नै पक्षका प्रदीप ज्ञवालीलाई नियुक्त ग¥यो भने २०७८ मङ्सिर २ गते महाधिवेशन गर्ने निर्णय ग¥यो । उता प्रचण्ड–माधव नेपाल समूहको बेग्लै बैठक बसेर अध्यक्षबाट ओलीलाई हटाउने र माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय भयो । दुवै समूहले आ–आफ्नो समूहलाई आधिकारिक भनिरहेका छन् । एउटै नाम, एउटै झण्डा राखेर बेग्लाबेग्लै कार्यक्रम गरेपछि औपचारिक रूपमा घोषणा नभए पनि नेकपा टुक्रिसकेको अर्थमा बुझ्न सकिन्छ । यो घटनाले नेताहरूलाई त आ–आफ्नो स्वार्थ पूरा भएकोमा खुसी नै लागेको होला तर, आम नेपाली जनताले दुःख मानेका छन् ।

देशमा राजनीतिक स्थिरता होस् भनेर नेपाली जनताले दिएको झण्डै दुईतिहाइ मतको अहिले अवमूल्यन गरिएको छ । हुन त कम्युनिष्टमा टुक्रिने र जोडिने पुरानै रोग हो । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी टुक्रिएर विभिन्न नामका दर्जनौं कम्युनिष्ट पार्टी बने । कम्युनिष्टहरूको यही टुटफुटको रोगबाट नेपाली जनता वाक्क भइसकेको अवस्थामा २०७५ जेठ ३ मा देशका दुई ठूला कम्युनिष्ट पार्टी माओवादी र एमालेबीच एकता भएपछि देशले विकासको गति लिनेमा धेरैले आशा गरेका थिए । त्यही आशाको सङ्केत थियो, एकतापछि नेकपाले पाएको झण्डै दुईतिहाइ मत । तर, अब त्यो आशाको त्यान्द्रो चुँडिएको छ । देशमा राजनीतिक स्थिरता र विकासको गति अघि बढ्ने आशामा तुषारापात भएको छ । यो अवस्थाले कम्युनिष्टहरू आफै जुधेर सिद्धिने खेलमा लागेको सङ्केत गर्छ । विश्वबाट कम्युनिष्ट शासन पतन हुँदै जानुको एउटा कारण कम्युनिष्टहरूबीचको आपसी द्वन्द्व पनि हो । त्यसबाहेक कम्युनिष्टका सैद्धान्तिक र व्यवहारिक चरित्रले चीनलाई अपवाद मान्ने हो भने अन्यत्र कम्युनिष्ट सत्ता ढलेका छन् । दोस्रो विश्वयुद्धपछि कम्युनिष्ट शासकको कब्जामा परेको पूर्वी जर्मनी र उदार प्रजातन्त्रको पक्षमा रहेको पश्चिम जर्मनीबीच ठडिएको बर्लिनको पर्खाल सन् १९८९ नोभेम्बर ९ मा भत्किएपछि नै कम्युनिष्ट शासनमाथि खतरा उत्पन्न भएको थियो । सन् १९९१ मा कम्युनिष्ट सत्ता सोभियत सङ्घ विघटन भएपछि संसारबाटै कम्युनिष्टहरूको पतन सुरु भएको थियो । संसारबाट बिदा हुँदै गएका कम्युनिष्टहरू नेपालमा भने पछिल्लो समय एकजुट हुने र जनमत पाउने क्रममा थिए ।

नेपालमा कम्युनिष्ट जन्मिएको सात दशक भयो । यो समयमा पटक–पटक सत्तामा पुगेको कम्युनिष्ट पार्टीका नेताहरू आम जनताको मुद्दामा भन्दा आफू र आफ्नो वरिपरिको घेरामा कसरी विकास गर्ने भन्नेमा केन्द्रित भए । व्यक्तिगत फाइदाका लागि जस्तोसुकै कृत्य गर्न पनि नेताहरू तयार भएपछि नै नेकपाको यो दुर्गति भएको हो । अहिलेको समयमा झण्डै दुईतिहाइ मत पाएको नेकपाको शक्तिशाली सरकार थियो । कोरोना महामारीले देशवासीलाई आक्रान्त पारेको बेलामा पनि यस्तो शक्तिशाली सरकारमा रहेकाहरू जनताको हितमा भन्दा आफ्नै समूहभित्रको स्वार्थमा केन्द्रित बने । जनतालाई कोरोनाबाट जोगाउने नाममा किनिएका स्वास्थ्य सामग्रीमा समेत अनियमितता भएको सार्वजनिक भयो । त्यसैले पनि सरकारप्रति वितृष्णा बढ्दै गएको बेला सुधार गर्नुको साटो पार्टी नै फुटाउन लाग्नु आफै सिद्धिने खेलमा लाग्नु हो । यो असफल खेलले न पार्टीलाई फाइदा गर्छ, न त देश र जनतालाई । त्यसैले कम्युनिष्ट पार्टीभित्रको यो खेल अन्त्य हुनु आवश्यक छ ।