कोशीटप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावरबाट सुनसरी, सप्तरी र उदयपुरका बासिन्दाले पटक–पटक सास्ती भोगिरहेका छन् । उनीहरूलाई सबैभन्दा ठूलो त्रास हात्तीको हुने गरेको छ । हात्तीको आक्रमणमा परेर कतिले ज्यानै गुमाएका छन्, कोही घाइते भएका छन्, अनि धेरैको घर, खेती नष्ट भएका छन् । वर्षौंंदेखिको यो समस्या समाधानका लागि सरकारी पक्ष गम्भीर बन्न सकेको छैन । सोमबार आरक्ष क्षेत्रमै रहेको मकुना जङ्गली हात्तीको आक्रमणमा परेर स्थानीय प्रमोद यादवको ज्यान गयो । मकुनाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या हालसम्म डेढ दर्जन पुगिसकेको छ । मकुनाको आतङ्क बढ्दै गएपछि स्थानीयले हात्तीलाई नियन्त्रणमा राख्नुपर्ने आवाज उठाइरहेका छन् । लगातार मान्छे मारिरहेको मकुनालाई मार्ने वा कसरी नियन्त्रण गर्ने भनेर जिल्ला प्रशासन कार्यालय सुनसरीसहित सरोकारवालाहरू छलफलमा जुटेका छन् । प्रशासनको छलफलमा मकुनाको दिमागी सन्तुलन गुमेको आशङ्कासहित कानूनी प्रक्रिया पूरा गरेर मार्ने कुरा उठ्यो । मकुना मार्ने योजनाको खबर सार्वजनिक भएपछि धेरैले मार्नुभन्दा कुनै उपाय अपनाएर नियन्त्रणमा राख्नुपर्ने आवाज उठेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले जङ्गली जनावार बहुलाएमा तोकिएको अधिकारीको आदेशमा मार्न वा पक्रिन सकिने व्यवस्था छ । तर, लगातार मान्छेको ज्यान लिइरहेको मकुना बहुलाएको हो कि होइन भन्ने पुष्टि भएको छैन । सो कुरा पत्ता लगाउन चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बोलाइएको छ । टोलीले बहुलाएको प्रमाणित गरे मार्ने र नगरे फलामे नेल लगाएर नियन्त्रणमा राख्ने प्रशासनको योजना छ । हात्ती मार्नु वा नेल लगाउनु तत्कालका लागि समस्या समाधानको उपाय हुन सक्ला तर, यो दीर्घकालीन उपाय होइन । दीर्घकालीन उपायका लागि गतिलो नीति आवश्यक हुन्छ । हात्ती जस्तो जनावर मार्न हतार गर्नुभन्दा सर्वप्रथम उपचारको प्रयास गर्नुपर्छ । एउटा हात्ती मर्नु प्रकृतिका लागि ठूलो क्षति हो । त्यसैले सकेसम्म हात्ती पनि बचाउने, मान्छे पनि बचाउने उपायको खोजी गरिनु उचित हुन्छ । कतिपय अवस्थामा त मान्छेले जनावरको बस्ने, खाने क्षेत्रमा घर बनाउँदा, खेती लगाउँदा पनि आक्रमणको शिकार बन्नुपरेको छ ।

जङ्गली जनावरहरूको बासस्थानको बढ्दो अतिक्रमण, अव्यवस्थित मानव बस्ती, प्रभावकारी सुरक्षा व्यवस्थाको कमी, सर्वसाधारणमा जङ्गली जनावरबाट बच्न सतर्कताका उपायबारे ज्ञानको कमी जस्ता कारणले जनावरको आक्रमण बढिरहेको छ । यी कुराहरूलाई ध्यानमा राखेर सरकारले नीति निर्माण गर्नु आवश्यक छ । हात्ती, बाघ जस्ता जङ्गली जनावरको बाटो अवरुद्ध हुने गतिविधि नियन्त्रण गरिनु आवश्यक छ । मध्यवर्ती क्षेत्रका सर्वसाधारणलाई जङ्गली जनावरका आनीबानी र तिनीहरूबाट बच्न अपनाउनु पर्ने सावधानीबारे राम्रोसँग प्रशिक्षित गराउनु जरुरी देखिन्छ । सरकारले मानव र जनावरबीच द्वन्द्व हुनसक्ने अवस्थाको अध्ययन गरेर समस्याको समाधान गर्नुपर्छ । तत्कालका लागि हात्ती पीडित परिवारलाई राहत र कानूनी व्यवस्था अनुरूप क्षतिपूर्ति उपलब्ध गराइनु पर्छ । त्यसपछि दीर्घकालीन नीति निर्माण गर्न सरोकारवाला र पीडितपक्षहरूले सरकारलाई ध्यानाकर्षण गराउनुपर्छ । अहिलेसम्म हात्ती र अन्य जङ्गली जनावरबाट मृत्यु भएका, घाइते भएका, घर र खेतीबाली क्षति भएका विवरण सङ्कलन गरेर गम्भीरतासाथ विश्लेषण गरी समस्याको समाधान खोज्न सरकारले ढिलो गर्नु हुँदैन ।