एक दशकभन्दा लामो समय हिंसात्मक राजनीतिबाट थिलथिलो बनेको देश तङ्ग्रिन निक्कै समय लाग्यो । तत्कालीन नेकपा माओवादीले सुरु गरेको हत्या हिंसाको राजनीतिले देशलाई विकासमा धेरै वर्ष पछाडि धकेल्यो । अन्ततः त्यो हिंसात्मक राजनीति असफल पनि भयो । ‘बन्दुकको नालबाट सत्ता प्राप्त हुन्छ’ भन्ने विचारबाट निर्देशित हिंसात्मक राजनीतिबाट सत्ता प्राप्त गर्न असफल भएपछि तत्कालीन माओवादी राज्यसँगको सम्झौतामार्फत् शान्तिपूर्ण राजनीतिमा लागेको थियो ।

तत्कालीन माओवादीको शान्तिपूर्ण राजनीतिक अवतरणबाट असन्तुष्ट केही नेता, कार्यकर्ता डेढ दशकपछि पनि हिंसात्मक बाटोमै छन् । लामो समयदेखि बम विष्फोट, अपहरण, चन्दा असुली र धम्कीका घटना गराउँदै आएको तत्कालीन माओवादीकै नेता नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युष्टि पार्टी फेरि हत्या हिंसाको राजनीतिमा सक्रिय भएको छ । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेर विप्लव समूहले आफ्नो पुरानो कर्म दोहो¥याउने सङ्केत गरेको छ । तर, कसैको ज्यान लिने कार्य कुनै हालतमा राजनीति हुन सक्दैन । यो आपराधिक कार्य हो । सत्तालाई तर्साउनका लागि एउटा निहत्था शिक्षकको हत्या गर्नुलाई राजनीति मान्न सकिंँदैन ।

विप्लव समूहले ठूला घोटालाहरूमा आवाज उठाउँदा, कारबाही गर्दा धेरैले समर्थन पनि गरेका थिए । यस्तो बेलामा देशमा व्याप्त भ्रष्टाचार विरुद्ध ‘एक्सन’ लिएको भए जनसमर्थन पाउन सक्थ्यो । देशका सबैजसो क्षेत्र विकृति, विसङ्गतिले आक्रान्त छन् । तिनका विरुद्धमा सक्रिय भए, आन्दोलन गरे देशवासीलाई पनि फाइदा हुन्थ्यो, त्यसलाई राजनीति भन्न सकिन्थ्यो । तर, देशका यावत् समस्यालाई वास्ता नगरी चन्दा नदिएको झोंकमा कसैको ज्यान लिने कार्य राजनीति होइन । हत्या हिंसाको राजनीति असफल भइसकेकाले यस्ता कार्यले आम जनताको समर्थन प्राप्त गर्न सक्दैन ।
तत्कालीन माओवादीकै हत्या हिंसाको राजनीतिको असर अहिलेसम्म समाजमा देखिन्छ । राजनीतिका नाममा हुने गरेका हत्या हिंसाको असर कालान्तरसम्म रहिरहने निश्चित छ । देशमा मात्र होइन, विश्वमै हिंसात्मक राजनीति गर्नेले छुट पाउन सक्दैनन् । कुनै न कुनै समयमा उसले अपराधको सजाय भोग्नै पर्छ भन्ने त माओवादीको सशस्त्र द्वन्द्वका बेला हत्या हिंसा गर्ने नेता कार्यकर्तालाई अहिले पनि समाज र राज्यबाट लुकेर हिँड्नु परेको अवस्थाले छर्लङ्ग हुन्छ । त्यसैले हिंसात्मक राजनीति अहिलेको समयको माग होइन । यसले झनै समस्या मात्र निम्त्याउने निश्चित छ । राजनीतिका नाममा हत्या हिंसा गर्ने जोसुकै भए पनि कडा कारबाहीको दायरामा ल्याउनु आवश्यक छ ।

राजनीति भनेको विचारको लडाइँ हो । बुद्धिमानीले विचार र तर्कले नै आम सर्वसाधारणलाई आफ्नो पक्षमा पार्न सक्छ । आम जनता जसको पक्षमा हुन्छन् उसले सत्ता पनि प्राप्त गर्न सक्छ । विचारले लड्न नसक्नेले मात्र हो फरक विचार राख्नेलाई वा आफ्नो आलोचना गर्नेलाई हत्या गरेर आफू अघि बढ्ने । राजनीतिलाई आपराधीकरण गर्न मिल्दैन । त्यसैले शिक्षक राजेन्द्र श्रेष्ठको हत्यालाई राजनीतिसँग जोड्नु हुँदैन यो अपराध हो । हत्या हिंसा गर्नेलाई कानूनले पनि राजनीतिक होइन, आपराधिक रूपमै लिनुपर्छ । विप्लव समूह मात्र होइन, यसरी नै हिंसात्मक राजनीति गर्ने सोच भएका समूहहरूले आपराधिक गिरोहको रूप धारण गर्ने हो भने त फरक कुरा हो तर, आफू राजनीतिक शक्तिका रूपमा स्थापित हुने हो भने आम सर्वसाधारणमा त्रास छरेर होइन, राम्रो काम गरेर मन जित्न सक्नुपर्छ । त्यसैले हत्या हिंसाको राजनीति तुरुन्त बन्द गर्नुपर्छ । हिंसात्मक राजनीति कसैलाई स्वीकार्य छैन ।