नेपाली समाज र न्यायपालिकाको सामान्य प्रचलन छ, बलात्कारजस्ता घटनामा अपराधी उम्कन नदिन पीडितलाई नै प्रमाणका रूपमा लिइने गरिन्छ । पीडितको भनाइलाई प्रमुख प्रमाण मानिन्छ । आफ्नै अनुयायी महिला बलात्कार गरेको आरोपमा पक्राउ परी झुम्का कारागारमा थुनिएका वराहक्षेत्र नगरपालिकास्थित चतराका सिद्धबाबा अर्थात् कृष्णबहादुर गिरीको सन्दर्भमा भने बलात्कार पुष्टि हुने चार–चारवटा प्रमाणहरू हुँदाहुँदै पनि सुनसरी जिल्ला अदालतबाट सोमबार सफाइ पाए । बलात्कारसम्बन्धी कानूनी व्याख्या, नजिर र प्रचलनमा यो सफाइ घटनाले एउटा अर्को नजिर स्थापित भएको मान्न सकिन्छ । जसले बलात्कारीलाई उम्कन सहज बनाएको छ । न्यायक्षेत्रमा यो एउटा चिन्ताको विषय बन्न पुगेको छ । बलात्कार घटनामा सन्तको भेषमा गिरी संलग्न थिए भन्ने त पीडित महिलाले सिद्धबाबा उर्फ गिरीको नाम किटानीका साथ जाहेरी दिएकोबाटै खुल्छ । घटना हुनुअघि सिद्धबाबाले पीडित महिलालाई साधनाका लागि आश्रममा मोबाइलमार्फत् बोलाएको म्यासेज प्राविधिक परीक्षणबाट पनि पुष्टि भएको छ । पीडित महिला सोही दिन आश्रममा गएको र सबैभन्दा महŒवपूर्ण प्रमाण त घटनापछि सिद्धबाबाले पीडितलाई १ घण्टा २० मिनेट लामो फोन गरेर रोइलो मच्चाउँदै आइन्दा यस्तो गल्ती गरे आफ्नो लिङ्ग नै काटेर फाल्ने भन्दै माफी मागेको भ्वाइस रेकर्ड पर्याप्त थियो । जुन अडियो रेकर्डमा भएको आवाज सिद्धबाबाको हो भनेर विधिविज्ञान प्रयोगशालाबाट पुष्टि पनि भएको छ । उक्त आवाज सिद्धबाबाले आफ्ना भक्त भोला बरालको फोनबाट पीडित महिलालाई माफी माग्दा बोलेका थिए ।
तर, जिल्ला अदालत सुनसरीले गिरीलाई बलात्कार आरोपबाट सफाइ दिएपछि पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने कम्तीमा चार प्रमाण हुँदासमेत न्यायाधीश अर्जुन कोइरालाको इजलासले उनलाई सफाइ दिएको घटनाले बलात्कार घटनामा सरकारवादी मुद्दा परे पीडितले न्याय नपाउने अवस्था सिर्जना भएको छ । सिद्धबाबाले पाएको सफाइ काण्डमा सरकारी वकिल कार्यालयले सोमबार सुनुवाइ रोक्नुपर्ने भनी दिएको निवेदनसमेत बेवास्ता गर्दै जिल्ला अदालतले आरोपितको एकतर्फी सुनुवाइका आधारमा मुद्दा टुङ्ग्याउनु बलात्कारसम्बन्धी मुद्दाको फैसला कसरी हुन्छ भन्ने पनि घाम जति नै छर्लङ्ग भएको छ ।
फैसलाको पूर्ण पाठ आउन बाँकी छ । तर, ‘अभियोग दाबी पुष्टि हुने प्रमाण नभेटिएकाले सफाइ हुने ठहर्छ’ भनेर सिद्धबाबालाई सफाइ दिइएको छ । अभियोग पुष्टि हुने चार–चारवटा प्रमाण हँुदाहँुदै पनि अभियोग दाबी हुने प्रमाण नभेटिएको भनेपछि अब ती पीडित महिलाले अरू के प्रमाण ल्याउनु पर्ने भयो होला ? अडियो भ्वाइसमा महिलासँग माफीसमेत मागेको अवस्थालाई समेत नजरअन्दाज गरिएको छ । सबै प्रमाण हुँदाहुँदै पनि सिद्धबाबाले आफूले बलात्कार नगरेको रटान लगाएको भरमा बलात्कार अभियोगबाट उम्कन पाउने हो भने यस्तै अरू घटना फेरि दोहोरिएको बेला पीडकले आफूले बलात्कार नगरेको रटान लगाएमा सफाइ पाउने भए त बलात्कारी पुरुषहरूले ? यसको जवाफ छ ? सोलुखुम्बुको साबिक जुबु गाविस स्थायी ठेगाना भएका गिरी चतराका बालसन्त महाराजको शरणमा परेर बस्दाबस्दै सिद्धबाबा रामकृष्णाचार्य वैष्णव कृष्णदास भनी चिनिए । पछि सिद्धबाबा कहलाउन थाले । सिद्धबाबा कहलिएको बेला आफ्नो नियमित सम्पर्कमा रहेकी एक अनुयायी महिलालाई गत कात्तिक ३ गते राति साढे ११ बजे फोन र म्यासेञ्जरमार्फत् रोमन अङ्ग्रेजीमा ‘हेलो, मैले मौका दिएका बेलामा चुप किन’ भनी कुटीमा बोलाए । दीक्षाका लागि गुरुले अवसर दिएको ठानी उनी आश्रममा गइन् तर, सिद्धबाबाले ती पीडित महिलालाई ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ धम्की दिई चुप लागेर बस्न बाध्य बनाएर र बलात्कार गरे। त्यसपछि सिद्धबाबाले ‘यो कुरा कसैलाई नभन्नू, भनेमा अनिष्ट हुन्छ’ भनेर फेरि धम्की दिए । उनका श्रीमान्ले सिद्धबाबाले बलात्कार गरेको थाहा पाएपछि श्रीमान्कै अग्रसरतामा २०७६ पुस १० गते प्रहरीमा किटानी जाहेरी दिइन् । अनुसन्धानपछि प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । सरकारी वकिलले तयार पारेको मिसिल बिना र सरकारी वकिलले बहस नै नगरी एकपक्षीय बहसको भरमा सम्भवत बलात्कार अभियोग लागेको व्यक्तिलाई दिइएको सफाइ यो नै होला मुलुकमा पहिलो । जबकी एकसाता अघिमात्र सर्वोच्च अदालतले सिद्धबाबालाई थुनामै राख्नु भनेर आदेश समेत दिएको थियो ।