यतिबेला ‘महिला हिंसाविरुद्धको सोह्र दिने अभियान’ सञ्चालित छ । हरेक वर्ष नोभेम्बर २५ बाट यो अभियान नेपालमा चल्छ । अभियानको अवधिमा सेमिनार, गोष्ठी, प्रभातफेरीलगायतका कार्यक्रम गरिन्छन् । यसवर्ष कोरोना महामारीका कारण सरकारले भीडभाड नगर्न निर्देशन गरेकाले मात्रै महिला हिंसाविरुद्धको सोह्र दिने अभियानबारे खासै कार्यक्रम भएका छैनन् । तैपनि जुममार्फत् थुप्रै कार्यक्रमहरू अहिले पनि गरिँदै छन् तर, हरेक वर्ष हुने यस्ता कार्यक्रम, सेमिनार, गोष्ठी र प्रभातफेरीले महिलामाथि हुने हिंसा कम हुन सकेको छैन । अझ दिन प्रतिदिन हिंसा बढेको बढ्यै छ । आखिर यस्ता कार्यक्रमको प्रभावकारिता किन भइरहेका छैनन् भन्ने खोजी र अन्वेषण हुन सकेको छैन । हिंसा किन न्यूनीकरण हुन सकेको छैन भन्नेतिर त महिला हिंसाविरुद्धको कार्यक्रम गर्नेहरूले झनै मनन् गरेका छैनन् । महिला अधिकारवादीहरूले पनि यो प्रश्नको उत्तर खोज्न सकेका छैनन् ।
महिला हिंसाको जड समाजको संरचनासँग जोडिएको छ । छु मन्तरका भरमा हिंसा न्यूनीकरण हुन्छ भन्ने सोच्नु अधिकल्पना मात्रै हो । यस्ता कार्यक्रमहरूले हिंसालाई घटाउँछ भन्नु पनि उस्तै मनोवृत्ति हो । महिला हिंसालाई चियाउनका लागि हाम्रो पूर्वीय सभ्यताको जडलाई नै पहिल्याउन आवश्यक छ । महिलालाई उपभोग्य वस्तु तथा भोग्याको रूपमा हाम्रा धर्महरूले परिभाषित गर्दै आएको विदितै छ । सत्य युग होस् या तेत्रा युग या द्वापर युग । यी युगहरूमा पनि नारीमाथि विभेद र हिंसा भएको पाउँछौं । त्रेता युगमा सीतामाथिको विभेद, द्वापर युगमा द्रौपदीमाथिको चीरहरण यस्ता थुप्रै उदाहरणहरू छन् । महिलालाई वस्तुको रूपमा चित्रण गर्ने हाम्रो पुरुषवादी सोच नै मूलतः महिला हिंसाको जड हो । यो जड अहिल्यै भत्काउन सक्ने अवस्था छैन । तर, यसलाई न्यूनीकरण अवश्य गर्न सकिन्छ । पितृसत्तात्मक सोचको उपज नारीहरू सदैव अपहेलित हुँदै आएका छन् । यो युगयुगान्तरदेखि चलिरहेकै छ । जबसम्म नारीलाई शिक्षा, स्वास्थ्यलगायतमा आत्मनिर्भर बनाइँदैन, तबसम्म यो प्रवृत्तिको अन्त्य हुँदैन । नारीलाई पनि स्वावलम्बन बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक छ । सोह्र दिने अभियानभरि ठूला–ठूला भाषण र चर्का नाराबाजी गर्दैमा अन्त्य हुने भए उहिल्यै अन्त्य भइसक्यो । अहिलेसम्म अभियान चलाइरहनु पर्ने आवश्यकता थिएन । यो अभियान आफैमा पनि गलत सावित भएको हो कि भन्ने सङ्केत घटिरहेका घटनाक्रम र तथ्यले देखाउँछ । त्यसो हो भने भइरहेको चाहिँ के छ त ?
कार्यक्रम, सेमिनार, गोष्ठी गर्दैमा सब ठीकठाक हुन्छ भन्ने सोच नै गलत छ । त्यो कार्यक्रम गर्ने रकमले हिंसामा परेका पीडितहरूलाई आत्मनिर्भर बनाउनका लागि खर्चिनु आवश्यक छ । डलरवादी संस्थाहरूले कार्यक्रम गरेर कागजका ठेली बनाएर हिंसा न्यूनीकरण हुँदैन । हिंसाको पछाडिका कारण आर्थिक, सामाजिक, राजनीतिक कुराहरू जोडिएका हुन्छन् । यस्ता विषयलाई पहिचान गरेर सेमिनार, गोष्ठी तथा कार्यक्रम गर्ने रकमले ती पीडितहरूलाई स्वावलम्बन बनाउनेतर्फका योजनाहरू अगाडि सारिनुपर्छ । अनिमात्रै समस्या न्यूनीकरणतर्फ अगाडि बढ्ला । हिंसा पूर्णतः समाप्त हुन्छ भनेर सोच्नु पनि दिवास्वप्न मात्रै हुनजान्छ । तर, कम्तीमा पनि अभियानको बेला मात्रै होइन, वर्षभरि नै त्यस्ता पीडितहरूको पहिचान गरेर उनीहरूको समस्यालाई सम्बोधन गर्दै जाने हो भने भविष्यमा महिला मात्रै होइन, पुरुष पनि हिंसाको सिकारमा पर्दैनन् । हिंसामा स्त्रीमात्रै पर्छन् भन्ने सोच राख्नु पनि गलत हो । कुनै पनि रोगको निदान गर्नका लागि जसरी चिकित्सकहरूले सुरुवाती क्षणमा डायलाइसिस, परीक्षणहरू गर्छन् । त्यसरी नै पीडितको समस्यालाई सम्बोधन गर्नका लागि उसमा भइरहेको हिंसाको रूपको विश्लेषण र अन्वेषण गर्न आवश्यक छ । अनिमात्रै समस्याको जड थाहा हुन्छ र न्यूनीकरण गर्न सहज हुन्छ । नत्र अभियानहरू डलर सक्ने र डलरवादीहरू मोटाउने खेल मात्रै हुनेछ ।