झापा र इलाम छिमेकी जिल्ला हुन् । झापाको उत्तरतर्फको सीमा इलामसँग जोडिएको छ । तर, सीमा जोडिएकै कारणले कतिपय सडक स्तरोन्नति हुन सकेका छैनन् । त्यहीमध्येको इलाम चुलाचुली गाउँपालिका–२ र झापाको कमल गाउँपालिका–५ नम्बर वडासँग जोडिएको एउटा सडक त्यही अवस्थामा छ । सडक बनेको डेढ दशक बितिसक्दा पनि यो सडकले रूप फेर्न सकेको छैन तर, नेपालमा यही डेढ दशकमा राजनीतिका रूप रङ्ग फेरिए, राजनीतिक दलका नेता, कार्यकर्ताको रूप रङ्ग फेरिए । सडक भने जस्ताको त्यस्तै अवस्थामा छ । पूर्व–पश्चिम लोकमार्गस्थित पाडाजुँगीबाट करिब पाँच किलोमिटर सडकमध्ये बस्तीसम्मको सडक कालोपत्रे बनिरहेको छ । तर, रतुवामाई वृक्षरोपण आयोजनाभित्र पर्ने सडक भने बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । यही सडक इलामको सीमामा पुग्दा भने कालोपत्रे भएको छ । चुलाचुलीले आफ्नो दायित्व नभएको भन्दै पन्छिने र कमलले आफ्नो क्षेत्र भए पनि प्रयोग गर्नु नपर्ने भन्दै पन्छिने प्रवृत्तिले सडकले तत्काल रूप फेर्न सायदै सक्ला ।
यो सडक नेपालका दुई शक्तिशाली नेताहरूको निर्वाचन क्षेत्र हो । त्यसमा पनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र पर्छ । उता इलामपट्टि भने सुवासचन्द्र नेम्वाङको क्षेत्र पर्छ । दुई शीर्षस्थ नेताहरूको क्षेत्र भए पनि सडकले रूप फेर्न सकेको छैन । दुई ठूला नेताको क्षेत्र भए पनि विकासले फड्को मार्न सकेको छैन । इलामतिर नेम्वाङले २०४८ यता जित्दै आएका छन् तर, विकासले जित्न सकेको छैन । बल्ल २०७४ सालमा भएको तीन तहको निर्वाचनपछि मात्रै विकासले केही फड्को मारिरहेको छ । त्योबीचमा नेताले आश्वासन बाँडिरहे । अहिले पनि त्यही अवस्था छ । राजनीतिक दलका नेताले हिजोदेखि विकासको फेहरिस्त दिँदै झुटको खेती गर्दै आइरहेका छन् । त्यसैको उपज हो हाल कमल गाउँपालिका–५ को सडक । सडक विकासको द्योतक हो । गाउँगाउँलाई जोड्न सडकले भूमिका खेल्छ । त्यो चुलाचुली पुग्ने मुख्य सडक हो । चालीस फिट चौडाइको त्यो सडक दुई ठूला नेताको चेपुवामा परेको छ । सीमाबाट चेपिएको सडकको कहिले बन्ने हो, त्यसको लेखाजोखा छैन ।
झापाको दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकालगायत क्षेत्र प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको मूल फुटाएको भन्ने चर्चा पनि छ । दमकमा त भ्यूटावर नै निर्माण गरिरहेका छन् । तर, सामान्य सडकलाई भने ध्यानै नदिएको जस्तो देखिएको छ । विकासको मूल फुटाउने नारा ओकल्दै आएको यो सरकार आफै चङ्गुलमा फसेको छ । अहिले सत्तारुढ दल नेकपाभित्रै मतभेद जारी छ । विकास र समृद्धिको नारा अलापेर नथाक्ने सरकारले हालसम्म केही प्रगतिउन्मुख कार्य गरेको देखिँदैन । सरकारको भूमिका पनि सोचेअनुरूप भएको पाइँदैन । सडक समृद्धि हो । सीमाकै कारण सडक नबनाइनु चाहिँ लाचारीपन हो । जो जहाँ भए पनि विकास नेपालकै हुने हो । सीमाले गर्दा सडक स्तरोन्नति नहुनु भनेको सङ्कीर्णता मात्रै हो । यस्ता सङ्कीर्णता नत्यागेसम्म देशको विकास हुँदैन ।