धरानका सुपरिचित राजनीतिक चिन्तक ‘बिए कृष्ण’ अर्थात् कृष्णप्रसाद श्रेष्ठको निधनले धरान मात्र होइन, समग्र नेपाली राजनीतिक क्षेत्रले एक जना बुद्धिजीवी गुमाएको छ । उनमा राजनीतिको सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास दुवै थियो । तर, उनी राजनीतिको व्यवहारिक अभ्यासमा त्यति जम्न सकेनन्, जति सैद्धान्तिक ज्ञानको भण्डार थियो र त्यसबाट थोरैले मात्र फाइदा लिन सके । ‘बिए कृष्ण’ धेरैका लागि ‘अप्ठ्यारा मान्छे’ पनि थिए । उनको जीवनशैली अरूको भन्दा फरक थियो । उनी सबैसँग सहजै घुलमिल हुन सक्दैनथे भन्ने आरोप लाग्थ्यो उनीमाथि । धरानका पहिलो उपप्रमुख, विभिन्न सङ्गठनमा जिम्मेवारी पूरा गरेका उनी राजनीतिको अग्रपङ्क्तिमै थिए । यस्ता मान्छे जनता, कार्यकर्तासँग सहजै उठबस, घुलमिल होऊन् भन्ने चाहना नगरवासीको हुनु स्वभाविकै हो तर, उनको स्वभाव फरक थियो । मान्छेका स्वभाव आ–आफ्नै हुन सक्छन् । सिद्धान्त र व्यवहार फरक कुरा हुन् । एउटा सिद्धान्तकारले पनि आफूले प्रतिपादन गरेका सबै सिद्धान्त व्यवहारमा लागू नगर्न सक्छ । उसले समाजका लागि के ग¥यो त्यो महŒवपूर्ण विषय हो ।
अहिले राजनीतिक दलका धेरैजसो नेता कार्यकर्ताहरू व्यक्तिगत फाइदामा कुदिरहेका छन् । आफ्नो विचार, नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर अहिलेका नेता, कार्यकर्ता आफ्नो फाइदाका लागि तुरुन्तै अर्कै विचार, नीति, सिद्धान्त अपनाएका दलमा सामेल हुन पुग्छन् तर, बिए कृष्ण आफ्नो विचारमा सधैँ अडिग रहे, आफ्नो सिद्धान्तमा विचलित भएनन् । नेपाली कम्युनिष्ट आन्दोलनमा सुरुकै चरणमा जोडिएका उनी व्यक्तिगत फाइदामा लागेका भए शक्तिका महŒवपूर्ण पदमा पुग्न सक्थे, व्यक्तिगत रूपमा धेरै सम्पत्ति कमाउन सक्थे तर, उनले त्यो बाटो रोजेनन् । उनी सुरुदेखि जुन कम्युनिष्ट विचारमा अडिग रहे, जीवन रहुञ्जेल त्यागेनन् । अहिलेको पुस्ताका राजनीतिकर्मीले उनले देखाएको यही नीति र सिद्धान्तको बाटो भुल्नु हुँदैन ।
उनी राजनीतिक व्यक्ति मात्र होइन, साहित्यिक व्यक्तिŒव पनि थिए । तर, जीवनमा उनले लेखनभन्दा बढी अध्ययनलाई ध्यान दिए । उनले सम्पत्तिका नाममा घरभरि किताब जोडे । आफ्ना विचार माझिरहे, चम्काइरहे । धेरै पढे, थोरै लेखे र आफूमा भएको ज्ञान सभा, सम्मेलन र व्यक्तिगत भेटघाटमा बाँडे । देश विदेशका धेरै सभा सम्मलेनमा सहभागी हुने अवसर पाएका उनले त्यहाँबाट फर्किएपछि आफूले पाएको ज्ञान धरानेहरूको भेलामार्फत् बाँड्ने गरेका थिए । उनमा ज्ञानको अथाह भण्डार थियो । त्यसैले त उनलाई नजिकबाट बुझेकाहरूले उनलाई ‘मानवीय पुस्तकालय’, ‘इन्साइक्लोपिडिया’ जस्ता उपमा दिने गरेका छन् । तर, उनमा भएको त्यो अथाह ज्ञान समाजका लागि उपयोगी हुन सक्यो कि सकेन ? उनले समाजलाई त्यो ज्ञान बाँड्न सकेनन् वा धरानको समाजले उनको ज्ञान चिन्न र उनीबाट लिन सकेन ? आजका राजनीतिकर्मीले चासो राख्नु पर्ने विषय हो । हरेक व्यक्तिका सकारात्मक र नकारात्मक दुवै गुण हुन्छन् । तर, सानो नकारात्मक गुणलाई बढाई–चढाई गर्दा उसमा भएका सकारात्मक गुणहरू ओझेलमा पर्न सक्छन् । उनले संसार छाडे पनि उनले देखाएर गएको राजनीतिक आदर्शको बाटो आजका राजनीतिकर्मीले भुल्नु हुँदैन ।