पछिल्लो तीन सातायता नेपालमा भ्रमणको ओइरो लागेको छ । भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुखदेखि चीनका रक्षामन्त्रीसम्मको नेपाल भ्रमणले केही नयाँ सङ्केत गरेको छ । यो भ्रमणलाई नेपाल सरकारले नियमित भ्रमणको रूपमा चित्रण गरिरहेको छ । तर, जानकार विशेषज्ञले भारत र चीनको भ्रमणलाई सामान्य भ्रमणको रूपमा लिएका छैनन् । सामान्यतः भ्रमणको निश्चित उद्देश्य हुन्छ । देखिने उद्देश्य र नदेखिने उद्देश्य हुन्छन् । दुई शक्तिशाली मुलुकको बीचमा रहेको नेपालमा दुवै देशको आ–आफ्नो स्वार्थ गाँसिएका छन् । भारतको स्वार्थ लामो समयदेखि जोडिएको छ भने चीनले पछिल्ला केही दशकयता मात्रै आफ्नो स्वार्थ देखाउन थालेको छ । चीन जहिल्यै पनि ‘पर्ख र हेर’ नीतिमा अगाडि बढिरहेको छ, किनकि चीनको स्वशासित क्षेत्र तिब्बत उसको सबैभन्दा बढी चासोको विषय हो । नेपालसँग शदिऔंंदेखि व्यापारिक, आर्थिक तथा पारिवारिक सम्बन्ध तिब्बतसँग जोडिँदै आएको विदितै छ । चीनको सिल्क रोड पनि स्वार्थसँग जोडिएको एउटा पाटो हो । भारत र चीनको चासोको बावजुद पनि नेपालमा अमेरिकाको अर्को चासो जोडिएको छ । पछिल्लो केही दशकयता चीनले गरेको आर्थिक क्रान्तिको पछाडि अमेरिकाको चासो जोडिएको छ ।

भारत जहिल्यै पनि नेपालमा अस्थिरता चाहन्छ । किनकि अस्थिरतामै उसलाई बढी फाइदा छ । विभिन्न पार्टीहरूलाई खुलेर प्रयोग गर्दै आइरहेको विदितै छ । यसअघि २०७२ सालमा गरिएको अघोषित नाकाबन्दी त्यसको नमूना उदाहरण छँदैछ । भारतको विस्तारवादी नीतिका अगाडि नेपाल लम्पसारवाद झैं देखिएको छ । जुनसुकै पार्टीले नेतृत्व गरे पनि ती पार्टीहरू कुनै न कुनै रूपमा दिल्लीबाट चलायमान भएको आरोप लाग्दै आएको छ । यसपटक ‘रअ’ प्रमुखले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधै भेट गर्नुले पनि त्यसलाई पुष्टि गरेको छ । किनकि कूटनीतिक मर्यादा प्रतिकूल प्रधानमन्त्रीले ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भेट गर्ने कार्य आफैमा निन्दनीय थियो र छ । चीन के चाहन्छ त्यो स्पष्टसँग नदेखिए पनि उसको कुनै न कुनै स्वार्थ जोडिएको छ । अमेरिकाको आँखा नेपालतिर भइरहँदा चीनचाहिँ नेपाललाई अमेरिकाले प्रयोग नगरोस् भन्ने पक्षमा देखिँदै आएको छ । अमेरिकाले २००४ सालताका पारित गरेको ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)’ को नेपालमा थुप्रै बहस र छलफल हुँदै आएको छ । एमसीसी कुनै न कुनै उद्देश्य प्रयोजनका लागि आउन लागेको केही विशेषज्ञहरूले बताउँदै आइरहेका छन् भने सिल्क रोड पनि त्यस्तै एउटा अस्त्र भएको ठानिन्छ । नेपाललाई यी तीनवटा शक्तिशाली देशहरूले प्रयोगशाला बनाउन खोजिरहेका छन् ।

भ्रमण भइरहेकै बेला सरकारलाई नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचमा व्यक्तिगत स्वार्थ हुँदै अहिले ‘एजेण्डा’ को ध्रुवीकरण भइरहेको छ । पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको स्वार्थ हुँदै अहिले एजेण्डामा पुगिरहेको छ । यो एजेण्डा कहीँ न कहीँ गएर दुर्घटनामा पुग्ने सङ्केत देखिँदै छ र यहीबेला भारतका विभिन्न उच्च पदस्थ कर्मचारीदेखि लिएर सेना प्रमुख, विदेश सचिवको भ्रमण त्यसै भइरहेको छैन । यता चिनियाँ रक्षामन्त्रीको एकदिने भ्रमणको देखिने र नदेखिने उद्देश्यहरू अवश्य नै छन् । त्यसैले मित्रवत् देशका हिसाबले भ्रमणलाई अन्यथा मानिहाल्नुपर्ने अवस्था छैन । तर, देशमा विकास भइरहेको राजनीतिक ध्रुवीकरण र अस्थिरताले चाहिँ केही सङ्केत अवश्य नै गरेको छ । सरकार जनताका अपेक्षा पूर्ति गर्नभन्दा बढी आफ्नो निहित स्वार्थमा लागेको छ । त्यो स्वार्थको लेपनमा जनता पिल्सिएका छन् । यहीबेलामा उच्च पदस्थ भ्रमणले नेपाली जनतालाई के सन्देश दिन खोजिरहेको हो प्रश्न सरकारलाई ?