नेपालमा क्लिनिक ट्रायल वा औषधीय परीक्षण नभएको र औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधिलाई प्रतिबन्ध गरिएको छ । प्रतिबन्धको बावजुद तस्करहरूले विभिन्न माध्यमबाट नेपाल ल्याउने र महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् । हालैमात्र विराटनगर महानगर–१३ का नरेश यादवले नेपालमा प्रतिबन्धित औषधि भारतबाट ल्याएर आफ्नो घरमा भण्डारण गरेको अवस्थामा बरामद गरेको छ भने यादवलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको छ । यादवले मिथाइल प्रिड्नीसोलोन र डाकसिसाइवर्गलिन नामक इञ्जेक्सन तस्करी गरेर घरमा राखेका थिए । ती औषधिहरू सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएका बिरामीमा प्रयोग गरिन्छन् । तर, नेपालको औषधि व्यवस्था विभागमा ती औषधिहरू दर्ता नभएको र क्लिनिकल ट्रायलसमेत नभएकाले प्रतिबन्धित मानिन्छन् । यादवले भारतबाट तस्करी गरेको औषधि ल्याउन ट्याक्टर प्रयोग गरेका छन् । उनले माथिबाट परालले छोपेर ल्याएका ती औषधिहरू विराटनगर हुँदै पूर्वका विभिन्न फार्मेसी, मेडिकल हल, अस्पताल, नर्सिङ होम, क्लिनिकमा महँगो मूल्यमा बिक्री हुने गरेको प्रहरीको बुझाइ छ । प्रतिबन्धित औषधिको तस्करी हुनुमा कसको हात होला ?

नेपालमा कतिपय औषधिहरू वैकल्पिक रूपमा उपलब्ध नहुँदा चिकित्सकहरूले नै औषधि विभागमै दर्ता नभएको र क्लिनिकल ट्रायल नभएको औषधि प्रेस्काइव गर्ने गरेका छन् । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले नै कानूनतः प्रतिबन्धित औषधि प्रेस्काइव गरिदिने गरेकाले पनि बिरामीको मागअनुसार विभिन्न अस्पताल, फार्मेसी, मेडिकल हलहरूले अनधिकृत रूपमा माग गर्ने गरेका छन् । औषधिको माग भएपछि तस्करीको रूप लिने गरेको छ । कानूनीरूपमा नेपालमा प्रतिबन्धित औषधि बरामद गर्नु र कसुरवालालाई पक्राउ गर्नु प्रहरीको नैतिक कर्तव्य हो । यसमा कुनै शङ्का छैन । तर, ती औषधिहरू कसले मागेको हो ? किन मागियो ? कसरी मागियो ? भन्ने प्रश्नहरूको उत्तर खोज्नेतिर पनि सरकारले ध्यान दिनु जरुरी छ । चिकित्सकले बिरामीलाई जाँच गरेर, ल्याव टेष्ट गरेर, एक्स–रे, एमआरआई वा सिटीस्क्यान गरेपछि ‘तिमीलाई यो यो रोग लागेको छ । त्यसको उपचार यो यो औषधिले गर्न सकिन्छ भनेर प्रेस्क्राइव नगरेसम्म ती औषधिको माग कसैले गर्दैन । अर्थात् सरल भाषामा चिकित्सकले बिरामीलाई यो यो औषधि प्रयोग गर्नू भन्छ र बिरामीले पनि सोहीअनुसारको औषधिको माग गर्छ वा खोज्छ । तर, नेपालमा प्रतिबन्ध भएको अवस्थामा चोरीको बाटो भएर पनि त्यस्ता औषधि ल्याइने गरिएको छ ।

कतिपय औषधि कम्पनीले आफ्नो ब्राण्डको औषधि प्रेस्क्राइव गर्ने चिकित्सकलाई महँगा महँगा उपहारहरू पनि दिने गरेको नसुनिएको होइन । तिनै उपहारको लालचमा परेर पनि कतिपय चिकित्सकले औषधि लेखिदिने गरेका छन् । विराटनगरबाट प्रहरीले बरामद गरेका ती औषधि पक्कै पनि गाइवस्तु चराचुरुङ्गीलाई खुवाउन ल्याइएको होइन होला । अर्थात् कुनै सामान्य स्वास्थ्यकर्मीले माग गरेको आधारमा त तस्करी भएको होइन होला । चिकित्सकले बिरामीलाई नभनेसम्म बिरामीले पनि आफै जान्ने भएर मागेको पनि होइन होला । यसर्थ औषधिको तस्करी रोक्नका लागि या त ती औषधिमा लागेको प्रतिबन्ध फुकुवा गरेर सर्वसुलभ बनाउनु पर्ने हुन्छ या त प्रतिबन्धित औषधि पे्रस्क्राइव गर्ने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले दर्ता नै खारेज गर्न सक्नुपर्छ ।