अहिले सुन्तला उत्पादनको मौसम हो । विशेषगरी कात्तिकदेखि चैत पहिलो सातासम्म बजारमा आउने नेपाली सुन्तला हालसम्म नेपाली बजारमै सीमित हुने गरेको छ । नेपालका रसिला सुन्तला भारत, बङ्गलादेशलगायतका छिमेकी देशहरूमा मन पराइए पनि सरकारले बजारीकरणमा पहल नगर्दा विदेश निर्यात हुन सकेको छैन । भारत र अन्य देशबाट आयात गरिएका सुन्तला नेपाली बजारमा जताततै पाइए पनि नेपालले भने स्वादिला र रसिला यहाँ उत्पादित सुन्तलाको ग्रेडिङ, ब्राण्डिङ, लेवलिङ गर्न पहल नगर्दा नेपाली सुन्तलाले विदेशी मुद्रा आर्जन गर्न सकेको छैन । सरकारी तवरबाट पहल नहुँदा राम्रो उत्पादन भए पनि विदेश पुर्याउन नसक्दा किसान चिन्तित छन् । त्यसका लागि सरकारले चाँडै कदम चाल्नु आवश्यक छ । एउटा देशमा उत्पादन भएका सामग्री अर्को देशमा निर्यात गर्नका लागि गुणस्तरको मापदन्ड पूरा गर्ने र आयात–निर्यात गर्ने देशबीच सम्झौता हुनुपर्छ । सरकारले कम्तिमा भारत, बङ्गलादेश जस्ता देशमा सुन्तला निर्यात गर्ने व्यवस्था मिलाउन पहल गर्नुपर्छ ।
पूर्वी नेपालमा मात्र करिब २ सय किसानले व्यावसायिक रूपमा सुन्तलाको खेती गरेका छन् । यो वर्ष पूर्वी पहाडी जिल्लामा सुन्तलाको उत्पादन करिब २५ प्रतिशतले घटे पनि यसपटक करिब एक अर्ब रुपैयाँ बराबरको नौ हजार मेट्रिक टन जति सुन्तला बजारमा पुग्ने कृषिउपज बजारस्थल धरानको अनुमान छ । अहिले भइरहेको उत्पादन नेपाली बजारमै खपत हुन्छ । नेपालका सुन्तला भारत र बङ्गलादेशमा समेत माग भए पनि बजारीकरणमा सरकारी पहल नहुँदा नेपालमै मात्र बिक्री गर्नुपर्ने अवस्था छ । नेपाली सुन्तला विदेश निर्यात हुन थाल्ने हो भने कृषकहरूले उत्पादन अझै बढाउने र त्यसबाट देशलाई नै विदेशी मुद्रा आर्जन हुनेमा दुईमत छैन । केही वर्षअघि नेपाली सुन्तला बङ्गलादेश र भारत निर्यात गरिएको थियो तर, क्वारेण्टाइन, ग्रेडिङ नहुँदा निर्यातले निरन्तरता पाउन नसकेको किसानहरूको गुनासो छ । किसानहरूलाई सुन्तला उत्पादनमा प्रोत्साहन गरेर आम्दानीको स्रोत बढाउन सकिने सम्भावना हुँदाहुँदै पनि काम हुन नसक्नु दुःखद् हो । यसको जिम्मेवारी सम्बन्धित निकायहरूले लिनुपर्छ र आगामी दिनमा सम्भावनाको खोजी गरिनु पर्छ । सुन्तला उत्पादक किसानहरूले भोगिरहेको यो समस्याको समाधानका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले तदारुकता देखाउनु आवश्यक छ ।
सुन्तला मात्र होइन, नेपालका यस्ता धेरै उत्पादन विश्व बजारमा पुर्याउनसके किसान मात्र होइन, समग्र देश नै धनी हुन सक्छ तर, प्रशस्त सम्भावना भए पनि राज्यको नीति निर्माण तहमा यसबारे चासो नहुनु, किसानका समस्या सुन्न, बुझ्न र उनीहरूले भनेअनुसार नीति निर्माण गर्न तत्परता देखाउन नसक्नु सत्तासीनहरूको कृषिप्रतिको बेवास्ता हो । देशमा उत्पादन भएका सुन्तला हुन् या स्याउ समयमा बजार पु¥याउन नसक्दा बिग्रिएर जाने तर, विदेशबाट आयात गरिएका फलफूल किनेर खानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । नेपाललाई ‘कृषिप्रधान देश’ भनेर गर्व गरिरहने तर, सम्भावना भएका वस्तुको अन्तर्राष्ट्रिय बजारीकरणमा पहल नगर्ने, चासो नदेखाउने, आफ्नै बलबुतामा कृषिकर्म गरिरहेका किसानलाई सहयोग नगर्ने बरु पार्टीका नेता, कार्यकर्तालाई कागजपत्र मिलाएर अनुदान र सहयोग गर्दै जाने परिपाटी नहटेसम्म कृषिक्षेत्रको विकास नहुने निश्चित छ । त्यसैले कृषिक्षेत्रमा देखिएका यस्ता विकृति हटाउन र उत्पादनहरूको सम्भाव्य बजारको खोजी गर्न सरकारले ढिला गर्नु हुँदैन ।