अरूको छाडिदिउँ एकछिनलाई तर, मान्छेलाई बाँच्नका लागि अनिवार्य चाहिने प्राणवायु अक्सिजन हो । प्रत्येक पलमा मानिसले श्वास–प्रश्वास लिँदा अक्सिजन लिन्छ र कार्वनडाई अक्साइड फाल्छ । यसको ठीक विपरीत बोटविरुवाले कार्वनडाई अक्साइड लिएर अक्सिजन फाल्छन् । यो कुनै दैवी गतिविधि नभएर प्राकृतिक नियम हो । मानिसले बाँच्नका लागि लिने अक्सिजन बोटबिरुवाबाट वा प्रकृतिबाट प्राप्त हुन्छ । यतिमात्र नभएर मानिस र उसले गरेका विभिन्न गतिविधि जस्तैः उद्योगधन्दा, कलकारखानाबाट निस्कने कार्वनडाई अक्साइडलार्ई सकेसम्म माटो र बोटबिरुवाले सञ्चिती गरेको हुन्छ । यो विज्ञानसम्मत तथ्य हो । यदि माटो र बोटबिरुवाले मानवीय गतिविधिबाट उत्पन्न हुने कार्वनडाई अक्साइड नसोस्ने वा सञ्चित नगर्ने हो भने सायद पृथ्वीमा मानिसको उपस्थिति हुन्थ्यो हुँदैनथ्यो, यसै भन्न सकिन्न ।
आधुनिककालमा आएर मानिसले अनेक विकास निर्माणसंँगै आविष्कार गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स, जर्मन, इटली, रसिया, चीन, जापान, कोरिया जस्ता अति विकसित मुलुकले हजारौं कामदार राखेर अर्र्बौं डलर लगानीका ठूला–ठूला उद्योगधन्दा, कलकारखाना सञ्चालन गर्दै आएका छन् । ती उद्योग, कलकारखानाबाट उत्सर्जन हुने भनेको मुख्यरूपमा कार्वनडाई अक्साइड हो । जसले वातावरणीय पर्यावरणलाई असन्तुलित मात्र बनाउँदैन, ग्लोवल वार्मिङमा प्रभाव पार्छन् । करिब अढाई दशकदेखि कार्वनडाई अक्साइड उत्सर्जन र सञ्चितीबारे विश्वका धनी मुलुक र गरिब मुलुकबीच व्यापक बहस चल्दै आएको छ । विकासोन्मुख मुलुक आर्थिकरूपमा कमजोर भएकाले उद्योगधन्दा, कलकारखाना सञ्चालन गर्न सक्दैन । नसकेपछि त्यस्ता मुलुकले कार्वनडाई अक्साइड उत्सर्जन पनि गर्दैनन् । वातावरणलाई प्रदूषित बनाउने कार्वनडाई अक्साइड कम उत्सर्जन गर्ने मुलुकलाई बढी कार्वन उत्सर्जन गर्ने धनी मुलुकले क्योटो प्रोटोकल, युरोपियन सङ्घ उत्सर्जन व्यापार योजना, अष्ट्रेलियाको गार्नेट जलवायु परिवर्तनलगायत सन्धि सम्झौताअनुसार पैसा तिर्नुपर्छ । पैसा यसकारणले तिर्नुपर्छ कि विकासोन्मुख मुलुकले कार्वन सञ्चिती गरेका कारण विकसित मुलुकका मानिसहरूले पनि अक्सिजन लिएर बाँच्न पाइरहेका छन् भनेर नै हो ।
नेपालजस्तो अल्पविकसित मुलुकले कार्वनडाई अक्साइड बढीभन्दा बढी उत्सर्जन गर्ने धनी मुलुकका लागि लाखौं टन कार्वन सञ्चिती गरेर वातावरणमार्फत् अक्सिजन दिँदै आएको छ । तर, यकिन तथ्याङ्क नहुँदा वार्षिक कति टन कार्वन सञ्चिती गरेर कति अक्सिजन अरूका लागि दियो भनेर भन्न सकिने अवस्था नभएको समयमा धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका क्याम्पस प्रमुखसमेत रहेका वनस्पतिविज्ञ सह–प्राध्यापक डा. दिलकुमार लिम्बू (हाङ्सुरुङ)ले विश्वविद्यालय अनुदान सहयोगमा विजयपुरको पञ्चकन्या जङ्गलमा कार्वन सञ्चितीबारे वैज्ञानिक अध्ययन अनुसन्धान गर्न पाइलट प्रोजेक्ट सञ्चालन गरिरहेका छन् । वनस्पति शास्त्रले एउटा परिपक्व रुखले एक वर्षमा करिब ४८ पाउण्ड अथवा २१ दशमलव ७८ किलोग्राम कार्वनडाई अक्साइड ग्यास सोस्ने (सञ्चित) गरेको हुन्छ । यसलाई आधार मान्ने हो भने एउटा परिपक्व रुख काट्नु भनेको प्रत्येक वर्ष २१ दशमलव ७८ किलोग्राम कार्वनडाई अक्साइड ग्यास थप्दै जानु बराबर हो । कार्वनडाई अक्साइडले वायुमण्डलको करिब शून्य दशमलव २१ प्रतिशत अंश ओगटेको हुन्छ । जैविक इन्धनहरूको दोहनबाट ऊर्जा उत्पन्न हुने क्रममा त्यहाँ रहेको कार्वन छुट्टिन गई वायुमण्डलमा रहेको अक्सिजनसँग मिलेर कार्वनडाई अक्साइड बन्छ । यसरी ऊर्जा दोहनबाट थप हुने कार्वनडाई अक्साइडले वातावरणमा असन्तुलन उत्पन्न गरी पृथ्वीको तापक्रम बढाउँछ । यसलाई हरित गृह प्रभाव भनिने गरिएको छ । कार्वन सञ्चितीको वैज्ञानिक अध्ययनले नेपालमा भएका वनजङ्गल र रुख बिरुवा, माटोले कति कार्वन सञ्चिती गरिरहेको छ भन्ने तथ्य निकाल्न सकिन्छ । सोही तथ्यको आधारमा नेपालले पनि निकट भविष्यमा यति कार्वन सञ्चिती गरेबापत यति रकम पाउनुपर्छ भनेर विश्वको कार्वन ट्रेडिङ (व्यापार) मा आफ्नो माग दाबी गर्न सक्छ । अरू कतिपय मुलुकले आफ्नो पहुँचअनुसार कार्वन ट्रेडिङमा अर्बौं डलरको माग दाबी गरेर धनी मुलुकबाट रकम असुल्दै आएको अवस्थामा धरानमा वनस्पतिविज्ञ डा. लिम्बूले कार्वन सञ्चितीमाथि गरिरहेको वैज्ञानिक अनुसन्धान मुलुकको लागि हितकारी हुने नै छ ।