नेपालको राजनीतिमा बारम्बार उठ्ने प्रश्न हो, पुराना पुुस्ताले कहिलेसम्म नेतृत्व ओगटिरहने ? नयाँ पुस्ताले कहिले पाउने ? सचेत नागरिकबीच लामो समयदेखि गफगाफ र सामान्य छलफलमा आए पनि यो विषयले राजनीतिक दलभित्र भने प्राथमिकता पाउन सकेको छैन । पछिल्लो समय नेकपामा युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने बहस सुरु भएको छ । केही समयअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवादमा क्रममा दाहालले आफूलाई नेतृत्व हस्तान्तरण गर्न दबाव दिएपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले अब पार्टीको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताएका थिए । तर, कुर्सीको लडाइँ बीच आएको यो ओलीको वचनले त्यति प्राथमिकता भने पाएन ।

बुधबारको नेकपा सचिवालय बैठकमा नेकपाका महासचिव विष्णु पौडेलले अहिलेको नेतृत्वले पार्टीलाई अघि बढाउन नसक्ने भन्दै सचिवालयका ९ जना सदस्यले सामूहिक राजीनामा दिएर नयाँपुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखे । ओलीका निकट र विश्वासपात्र समेत मानिने पौडेलको यो प्रस्ताव पारित नभए पनि बहसको विषय भने बनेको छ । के नेकपाले अध्यक्ष ओली र महासचिव पौडेलले भने जस्तै पार्टी नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्न सक्ला ? अहिले नै ठोकुवा गर्न त नसकिएला तर, आम जनताले समेत राजनीतिक दलहरूमा युवा नेतृत्वको सवाल उठाउँदै आएकाले यसलाई आगामी दिनमा बहसको विषय बनाइनु आवश्यक छ । हुन त अहिले ओली र पौडेलले उठाएको यो आवाज दाहाललाई नेतृत्वबाट पन्छाउने चालबाजीका रूपमा पनि हेरिने गरेको छ । आन्तरिक कलह वा अन्य जेसुकै विषय भए पनि घनीभूत रूपमा बहसमा आउनु पर्ने विषय हो यो ।

नेपालका मुख्य राजनीतिक दलहरू नेकपा होस् या नेपाली काङ्ग्रेस वा अरू राजनीतिक दलमा अहिले पनि पुरानापुस्ताका नेताहरूकै जगजगी छ । सम्भावना भएका नयाँ पुस्ताका नेतालाई अघि बढ्न नदिने, खुट्टा तान्ने प्रवृत्ति सबै दलहरूमै देखिन्छ । पुराना पुस्ताले कुर्सी ओगटेर नयाँलाई अवसर नदिँदा देशको विकासमै असर परेको छ । अझ राजनीतिमा लाग्न चाहने नयाँपुस्तालाई निरुत्साहित गरेको छ । यस्तो अवस्थामा नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज नेपालको ठूलो राजनीतिक दलभित्र उठ्नु सकारात्मक हो । तर, यो आवाजलाई यतिमै सीमित नराखी बहसमा लैजानु आवश्यक छ । नेपालको राजनीतिक इतिहासमा मूलतः २००७ सालपछिको समयलाई लिइन्छ । सात दशकको यो समयमा विशेषगरी दोस्रो पुस्ताका नेताहरूको बाहुल्यता छ दलहरूमा । विशेषतः पञ्चायती व्यवस्थामा राजनीतिक गरेका उनीहरूको सोचाइ बुझाइ र काम गराइ अहिलेका नयाँपुस्ताको सोचाइसँग नमिल्नु स्वभाविकै हो । नेतृत्वको सोचाइ र दृष्टिकोणले नै देशको भविष्य निर्धारण गर्ने भएकाले पनि अब नयाँपुस्ताले दल र देशको नेतृत्व सम्हाल्नु अपरिहार्य छ । तर, पुराना पुस्ताले नयाँपुस्तालाई अवसरै नदिने र नयाँपुस्ताले पनि हस्तक्षेपकारी भूमिका खेलेर नेतृत्व लिन नसक्ने अवस्था नेपालका लागि समस्याको विषय हो ।

नेकपामा मात्र होइन, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत सबै राजनीतिक दलमा नेतृत्वमा नयाँपुस्ताका विषयमा बहस घनीभूत रूपमा उठ्नु आवश्यक छ । आगामी दिनमा पुराना पुस्ताको अनुभवलाई सम्मान गर्दै, उनीहरूसँगै सरसल्लाह लिंँदै नयाँपुस्ताले राजनीतिक दलहरूको नेतृत्व लिने वातावरण बनाउनु जरुरी छ । अहिले राजनीतिमा देखिएका पुराना पुस्ताहरूको नेतृत्व र क्षमता आम नागरिकले देखी, बुझिसकेकाले अब नयाँपुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ । यसका लागि लामो समयदेखि पदमा रहेका, सत्ताको लाभ लिएका अग्रज नेताहरूले स्वार्थ त्याग्न सक्नुपर्छ । युवापुस्ताले पनि नेतृत्व हातमा लिन आफ्नो क्षमता प्रदर्शन गर्दै पार्टीमा हस्तक्षेप बढाउनु पर्छ ।