अपराधको दुनियाँमा महिलाहरूको संलग्नता कमै हुन्छ भन्ने आम मान्यता छ । देशको ढुकुटी खर्च गर्न र भ्रष्टाचारमा महिलाको नाम कमै आउँछ । सायद नीति निर्माण तहमा महिलाहरूको उल्लेख्य उपस्थिति नभएर पनि त्यस्तो देखिएको होला । तर, आमरूपमा हुने आपराधिक गतिविधिमा महिलाहरूको संलग्नताले सामाजिक र पारिवारिक क्षेत्रमा यसको असर भने परेको छ । प्रहरीको पछिल्ला आँकडाले अपराध कर्ममा महिलाको संलग्नता बढ्दै गएको देखाएको छ । हुन त पुरुषको दाँजोमा सङ्ख्यात्मक रूपमा उनीहरूको सङ्ख्या कमै भए पनि बर्सेनि आपराधिक गतिविधिमा संलग्नता बढ्दै गएको देखिनु समाज र परिवारको लागि नकारात्मक सन्देश हो । आपराधिक गतिविधिमा महिलाहरूको संलग्नता लगातार बढ्नु भनेको समाज र परिवारको विघटन कसरी हुँदैछ भन्ने प्रश्न पनि हो । जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कले भन्छ, पछिल्लो दुई वर्षमा एक सय ९५ महिलाहरू विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । ती आपराधिक गतिविधिहरूमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण, चोरी, अभद्र व्यवहार, बहुविवाह, बैङ्किङ कसुर, आत्महत्या दुरुत्साहन, हातहतियार, ठगी, मानव बेचबिखनलगायत रहेका छन् ।
आधुनिक जीवशैली, बढ्दो प्रविधिको प्रयोग, न्युक्लियर परिवार, बेरोजगारी, अनेक खाले जानकारी र ज्ञानको विष्फोट, यौनमा स्वच्छन्दता, पुरुषप्रधान समाज विरुद्धको आक्रोस र विद्रोह, पुरातन मान्यताको खण्डन, सामाजिक विखण्डन, पारिवारिक विखण्डन, समाज र परिवारको लागि भन्दा पनि आफ्नै लागि सोच्ने व्यक्तिवादी प्रवृत्तिको विकास, मनोसामाजिक समस्या, लागूपदार्थ र मध्यपान, धूमपानमा वृद्धि, छोटो बाटो अपनाएर भए पनि आत्मनिर्भर हुने लालसा, आपराधिक गतिविधिलाई एड्भेञ्चरको रूपमा लिने मानसिक चाहना, पुरुष सत्ताविरुद्ध हुङ्कार, समाज, परिवार र आफन्तबाटै धोका, आर्थिक लालसालगायत अनेक कारणले समाजमा महिलाहरूमा एक प्रकारले आन्दोलित, आक्रोसित, बदलाको भावनाले प्रेरित हुनसक्ने भएकाले पनि यस्तो अवस्था सिर्जना भएको हो । प्रहरीको अध्ययनले भन्छ, पुरुषको तुलनामा सङ्ख्या कम भए पनि पछिल्लो केही वर्षयता अपराधको प्रवृत्ति फेरिएको छ । विभिन्न प्रलोभन, बदलिँदो समाज, आर्थिक तथा पारिवारिक कारणले अपराध कर्ममा फस्ने गरेको अध्ययनले देखाएको छ । केही महिला बाध्यताले, केही माया–प्रेममा धोकाले त केही महिला सङ्गतले आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा कर्तव्य ज्यान मुद्दामा ७, ज्यान मार्ने उद्योगमा २, लागूऔषध ओसार–पसारमा ४, अभद्र व्यवहारमा २६, बहुविवाहमा ३२ लगायतका मुद्दामा गरी ९१ जना महिला पक्राउ परेका थिए । आर्थिक वर्ष २०७६/०७७ मा कर्तव्य ज्यान मुद्दामा ३, ज्यान मार्ने उद्योगमा ६, लागूऔषध ओसार–पसारमा ४, अभद्र व्यवहारमा २७, बहुविवाहमा २६ लगायतका मुद्दामा गरी ९३ जना महिला पक्राउ परेको जिल्ला प्रहरीको तथ्याङ्क छ । यस्तै चालु आर्थिक वर्षको हालसम्म ज्यानसम्बन्धी कसुरमा १, ठगीमा २, चोरीमा ३, आत्महत्या दुरुत्साहनमा १ सहितका मुद्दामा गरी १२ जना महिला पक्राउ परेका छन् । मनोसामाजिक शास्त्र, मनोविज्ञान वा शरीर विज्ञानको आधारमा भन्ने हो भने खासमा महिला र पुरुषमा शारीरिक बनावट बाहेक केहीमा पनि फरक खासै छैन । यद्यपि प्राचीनकालदेखि आधुनिक कालसम्म आइपुग्दा महिलालाई पुरुषप्रधान सत्ताको आडमा अनेक विभेद, थिचोमिचो, यौनदासी, भोग्या, अधिकारविहीन बनाएकै हो । तर, अहिले अवस्था त्यस्तो छैन । ज्ञान, शिक्षा, प्रविधि, राजनीति जस्ता क्षेत्रमा पनि उत्तिकै छन् । आखिर उनीहरू पनि मन र मस्तिष्क भएका हाड, छालाले बनेका मान्छे हुन् । त्यसैले बदलिँदो परिस्थितिअनुसार महिलाहरू आपराधिक गतिविधिमा संलग्न हुनु आश्चार्य होइन । तर, यो परिस्थितिलाई समाधान गर्न भने प्रहरी प्रशासन सक्रिय हुनै पर्ने भएको छ । प्रहरी प्रशासनमात्र सक्रिय भएर हुँदैन, महिलाहरूलाई आपराधिक गतिविधिमा संलग्न हुनबाट जोगाउन समाज र परिवार पनि उत्तिकै सक्रिय हुन जरुरी छ ।