केही समयअघि हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना लागेको समाचार विश्वका मिडियाहरूमा छाए । तीन दिनसम्म अस्पतालमा राखिएपछि उनी कालो रङ्गको कारमा बाहिर हिँडेको देखियो । ट्रम्प त्यसरी बाहिर निस्किँदा ‘जोखिम’ बढ्ने भन्दै व्यापक आलोचना भयो । राष्ट्रपति ट्रम्पले त्यो जोखिम किन उठाए ? त्यसको दुई दिन नबित्दै पुनः विश्वका मिडियामा ट्रम्पमा कोरोना सार्न सक्ने क्षमता नरहेको भन्दै समाचारहरू बाहिर आए । तर, कति ‘भाइरल लोड’ हुँदा चाहिँ एकबाट अर्कोमा सार्ने क्षमता बढी हुन्छ या हुँदैन भन्ने विषयमा यथेष्ट जानकारी दिइएन । यतिमात्रै भनियो कि ट्रम्पमा कोरोना सार्न सक्ने क्षमता ह्रास भइसकेको बताइयो । यहाँ जोड्न खोजेको विषय चाहिँ के हो भने आखिर कति भाइरल लोड हुँदा चाहिँ ‘ट्रान्समिसन र नन्ट्रान्समिसन रेट’ हुन्छ । यसबारे हालसम्म नेपालमा आधिकारिक रूपमा आउन सकेको छैन ।
फेसबुक, ट्वीटर तथा अन्य सामाजिक सञ्जालहरूमा विभिन्न डाक्टरको हवाला दिँदै २४ भाइरल लोडभन्दा माथि गएमा कोरोना सर्न सक्ने क्षमतामा ह्रास आउँछ भनेर भनिने गरिएको भेटिन्छ । तर, त्यो कतिको भरपर्दो र आधिकारिक सूचना एवम् तथ्य हो भन्ने जनताले थाहा पाउन सकेका छैनन् । नेपालमा थुप्रै स्वास्थ्य इन्सिच्यूटहरू पनि छन् । जहाँ खोज, अनुसन्धान, अन्वेषण हुन्छन् । त्यस्ता स्वास्थ्य संस्थाहरूले पनि हालसम्म कुनै आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न सकेका छैनन् । नागरिकमा ठूलो भ्रम छ । कतिपयले ३० भन्दामाथि भाइरल लोड भएको अवस्थामा ‘नन्ट्रान्समिसन रेट’ हुने उल्लेख गर्दै आइरहेका छन् । तर, त्यसलाई पनि आधिकारिक मान्ने आधार हालसम्म कहीँकतै पाइँदैन । धरानमै पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । जहाँ खोज, अनुसन्धानहरू हुन्छन् । बीपीमा मात्रै दैनिक २ सयदेखि ४ सयको हाराहारीमा स्वाब सङ्कलन गरेर परीक्षण गरिन्छ । यहाँका चिकित्सकले पनि आधिकारिक तथ्य बाहिर ल्याउन चासो देखाएका छैनन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मान्यता कम्तीमा सङ्क्रमित भएका व्यक्तिले १४ दिनसम्म अलग्गै ‘आइसोलेसन’ मा बसे स्वतः बाहिर निस्कन सक्ने बताएको छ । उसले पुनः परीक्षण गर्नु नपर्ने बताउँदै आइरहेको छ । तर, यस्ता पनि सङ्क्रमित भेटिएका छन्, जसलाई ४२ दिनसम्म कोरोना पोजेटिभ भइरहेको भेटिन्छ । यस्तो अवस्थामा सङ्क्रमितले कति दिनसम्म आइसोलेटेड भएर बसेमा चाहिँ पूर्ण निको हुन्छ त ? यसको कुनै लेखाजोखा भएको पाइँदैन ।
अहिले आम नागरिकमा यही भ्रम व्याप्त छ, यसलाई चिर्नका लागि न त चिकित्सकहरूले भूमिका खेलिरहेका छन्, न त प्रभावकारी रूपमा मिडियाले नै खोज, अन्वेषण गरेर समाचार बाहिर ल्याएका छन् । कोरोनासँग सम्बन्धित सरकारहरूले पनि ‘बुकिङ काउण्टर’ को काम मात्रै गरिरहेका छन् । आज यति कोरोना सङ्क्रमित थपिए, निको भए, मृत्यु भए भन्ने मात्रै आँकडा दिइरहेको छ र त्यही कुरालाई मिडियाले पनि जस्ताको त्यस्तै बाहिर ल्याइरहेको अवस्था छ । तर, हामीले के चाहिँ भुलिरहेका छौं भने ‘ट्रान्समिसन र नन्ट्रान्समिसन रेट’ चाहिँ कतिदेखि कति हो ? यसबारे बुझाउनसके मात्रै आम नागरिकमा अहिले कोरोनाप्रति भइरहेको भ्रमलाई चिर्न मद्दत गर्नेछ । आम मान्छे कोरोनाले भन्दा पनि मानसिक तनावका कारण मृत्युवरण गरिरहेका छन् । सङ्क्रमितलाई बुझाउन नसक्दाको परिणाम हामीले भोगिरहेका छौं । अर्को स्मरणीय कुरा के पनि भने जो मृत्युवरण गरिरहेका छन्, उनीहरू कुनै न कुनै रोगबाट ग्रसित छन् अर्थात् भनौं दीर्घरोगी छन् । उनीहरूलाई जब कोरोनाले सङ्क्रमण गर्छ, तब उनीहरूले लिइरहेको नियमित औषधि सेवन गर्न पाइरहेका छन् कि छैनन् । कोरोनालाई भगाउन भन्दै बेसार, गुर्जो, जेठी मधु, असुरोलगायतका वनस्पति र जडिबुटीको जथाभावी प्रयोग पनि बढिरहेको छ । त्यस्ता दीर्घरोगीहरूलाई कुन जडिबुटी फलदायी हुन्छ, कुन हुँदैन भन्ने ज्ञान हुँदैन । खालि कोरोना भगाउने ध्याउन्न मात्रै हुन्छ । जसका कारण थप रोगी बनिरहेका पो छन् कि ? यसतर्फ ध्यान दिँदै चिकित्सक तथा आयुर्वेदिक डाक्टरहरूले यथेष्ट जानकारीहरू बाहिर ल्याउनुपर्छ ।
सरकारले त यो काम गरिरहेको छैन नै, हामी जसलाई भगवान्को रूपमा मान्छौं, उसले पनि यो काम गरिरहेको पाइँदैन । सरकार कोरोनालाई नियन्त्रण गर्नेतर्फ लागेको छैन भन्ने कुरा त उसले गर्दै आएको विभिन्न निर्णयबाटै प्रष्ट छ, अब नागरिक तहबाटै सबै कुरा गरिनुपर्छ । यसको सबैभन्दा बढी जिम्मेवारी भगवान्रूपी चिकित्सकहरूले भूमिका खेल्नुपर्छ । आम नागरिकलाई कोरोनाको सङ्क्रमण दर र जडिबुटीको बारेमा यथेष्ट ज्ञान नदिने हो भने यो समस्या अझै विकराल बनेर जानेछ । त्यसलै बेलैमा सचेतता अपनाउनु चाहिँ बुद्धिमानी ठहर्छ ।