एकीकरण भएको तीन वर्ष नपुग्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ‘पार्टी फुटाउने’ बारे बहस हुन थालेको छ । एकीकरण भएदेखि नै आन्तरिक मनमुटाव बेलाबखत सार्वजनिक भइरहे पनि यसपटक नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओलीले ‘सल्लाहले नै पार्टी फुटाऔं’ भनेको कुरा अर्का अध्यक्ष दाहालले पार्टीका सचिवालय सदस्यहरूसँग सार्वजनिक गरेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । यो तरङ्गले नेकपाकै तल्लो तहका कार्यकर्ताहरू हतास देखिएका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच प्राविधिक रूपमा एकता भए पनि भावनात्मकरूपमा एकता हुन सकेको थिएन । अहिलेको परिस्थितिको मुख्य कारक पनि यही नै हो ।

हुन त २०७५ जेठ ३ गते पार्टी एकीकरणको घोषणा कार्यक्रममा ओलीले एमाले र माओवादी मिसिएको नभई अन्तरघुलन भएको दाबी गर्दै भनेका थिए, ‘हिन्द महासागरमा गएर यो पानी कहाँको हो भनेर छुट्याउन सकिन्छ र ?’ दाहालले पनि ओलीको बोलीमा लोली मिलाउँदै भनेका थिए, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यो, अब छुट्याउन मिल्दैन ।’ तर, अहिले उनै अध्यक्षद्वय पार्टी फुटाउने छलफल गर्न थालेका छन् । सतहमा देखिएका कारणहरू धेरै छन्, ‘रअ’ प्रमुखसँगको भेट, कर्णाली प्रदेशको विवादलगायत । तर, यी देखिएका वाह्य कारण मात्र हुन् । खासमा अध्यक्षद्वयको यो पार्टीको विचार, नीति, सिद्धान्तभन्दा नितान्त शक्तिको लडाइँ हो, पदको झगडा हो । कुर्सीको लडाइँमा आम जनअपेक्षा र कार्यकर्ताको भावना विपरीत अध्यक्षद्वयको द्वन्द्व न पार्टीका लागि हितकर छ, न त देशका लागि ।

जब तत्कालीन एमाले र माओवादी मिसिएर नेकपा बन्यो, त्यही बेलादेखि नै पूर्व एमाले र पूर्व माओवादी गुट बनिसकेका थिए । कम्युनिष्ट पार्टीहरूमा गुट र फुटको रोग पुरानै हो । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको छोटो समयदेखि नै गुट र फुट सुरु भएको हो । केही वर्षअघिसम्म त कम्युनिष्ट नामका पार्टीहरूको सङ्ख्या दर्जन बढी पुगिसकेको थियो । उनीहरूबीचकै द्वन्द्व देशका लागि समस्या बनिरहेको अवस्थामा दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकतालाई आम नेपालीले सकारात्मक रूपमा लिए । सत्तामा स्थायित्व भए देशले विकासमा फड्को मार्ला भन्ने आशाले नै आम मतदाताले नेकपालाई दुईतिहाइ मत दिए । मतदाताले दिएको यो ऐतिहासिक अवसरलाई देश र आम नेपालीको हितमा प्रयोग गर्न सक्नु पथ्र्यो नेकपाले तर, जनमतलाई दम्भका रूपमा लिइयो । त्यहीँबाट विश्वास पनि गुमाउँदै गएको हो नेकपाले । दुईतिहाइ शक्ति भएको नेकपाको सरकारले देश र जनताको हितमा चाहे जसरी काम गर्न सक्थ्यो तर, यो अवसरलाई बल्ल–बल्ल पाएको मौकाका रूपमा देशका लागि होइन, आ–आफ्नो व्यक्तिगत फाइदामा कसरी लगाउन सकिन्छ भन्नेमा नेताहरूको ध्यान केन्द्रित हुँदा नेकपाको दुर्गति सुरु भयो । अहिलेको नेताहरूको लडाइँ यसैको शृङ्खला मात्र हो । कोरोना महामारीले विश्व आक्रान्त भएको यो बेला नेताहरूले कुर्सीको लडाइँ गर्ने बेला कदापि होइन । बरु सबै दललाई एक बनाएर कोरोना नियन्त्रणमा लाग्ने मौका हो । कोरोना महामारीले अर्थतन्त्र धरासायी बनेको छ, जनताले समयमा उपचार नपाएर मर्नु परिरहेको छ, पेशा व्यवसाय बन्द भएपछि आम नागरिक भोकले मर्ने अवस्था आएको छ । यो बेला उनीहरूको जीवन रक्षा गर्न लाग्ने कि आफ्नो कुर्सीको लडाइँमा ? त्यसैले सत्तारुढ नेकपाका नेताहरू बेलैमा सच्चिएर व्यक्तिगत स्वार्थको लडाइँ छाडेर कोरोना महामारी विरुद्धको लडाइँमा लाग्नु आवश्यक छ । यो कुबेलाको रडाको बन्द हुनुपर्छ ।