सडकमा मापसे चेकजाँचसँगै सवारी साधन चलाउने अनुमति पत्र भए नभएको हेर्नका लागि चेकपोष्टमा ट्राफिक प्रहरी चौबिसै घण्टा तैनाथ छन् । सडकमा स्पीड ब्रेकर छ । ट्राफिक चिन्हहरू छन् । बढी दुर्घटना भएका स्थानमा सचेत गराउने सूचना बोर्ड पनि राखिएकै छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई दैनिकजसो कारबाही भइरहेकै छ । स्थानीयस्तरमा सचेतना कार्यक्रम पनि नभएका होइनन् । आखिर किन यति विघ्न सवारी दुर्घटना हुन्छ र अकालमा चालक, यात्रु र पैदल यात्रुको ज्यान जान्छ ? कात्तिक ७ गतेदेखि १५ गतेसम्मको अवधिमा प्रदेश १ भरि १४ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । एकैसातामा चार महिलासहित १४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउनु भनेको सामान्य होइन । एक सातामा ४५ दुर्घटना भएका छन् । १४ जना त मृत्युको मुखमा पुगे नै ५९ जना घाइते भए अर्थात् अङ्गभङ्ग भए । कतिपयको टाउको फुट्यो, कतिपयको हात–खुट्टा भाँचिए । तीमध्ये कतिपयले जीवनभर अपाङ्ग भएर बाँच्नु पर्ने भएको छ । दैनिक दुई जनाको दरले प्रदेश १ मा सवारी दुर्घटनाबाट मृत्यु भइरहेको देखिन्छ ।

यसैगरी दैनिक सरदर ८ जना गम्भीर घाइते हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यसमा पनि मोरङ र सुनसरी अनि झापामा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको र ज्यान पनि जाने गरेको देखिएको छ । रोग र महामारीबाट मर्नेहरूको सङ्ख्या जत्तिकै सवारी दुर्घटनामा परेर बर्सेनि ज्यान गुमाउनुको कारण के हुन सक्छ ? पुराना सवारी साधन भएर हो त ? ब्रेक फेल भएर हो ? सडकको गुणस्तर नभएर हो ? साँघुरो सडक भएर हो ? चालकले मापसे गरेर हो ? कुदाउन नजानेर हो ? ओभरटेक गरेर हो ? किन हुन्छ सवारी दुर्घटना ? सवारी दुर्घटना हुनुका कारणहरू के के हुन सक्छन् ? यसबारेमा चार वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल प्रहरी, एसियाली विकास बैङ्कलगायत संस्थाले गरेको संयुक्त अध्ययनले भने नौ वटा मुख्य कारणहरू पहिचान गरेको छ ।

अध्ययनअनुसार सवारी साधन चलाउन अयोग्य सडकमा जबर्जस्ती कुदाउनु, ‘रोड सेफ्टी अडिट’ र ‘ब्ल्याक स्पट’ पहिचान गर्न नसक्नु, २० वर्ष पुरानो पत्रु भएको सवारी साधनमा कोचाकोच यात्रु भरेर जबर्जस्ती चलाउनु, ट्राफिक चिन्ह, ट्राफिक नियम नै थाहा नपाएका अदक्षले पनि तीन महिना तालिम लिएको भरमा सवारी साधन चलाउनु, जतिसुकै भरिए पनि वा सिटै नभए पनि यात्रुहरू ढिपी गरेर खाँदिएर चढ्नु, चालकलाई स्पीड कुदाउन दबाव दिनु, सवारी साधनको मर्मत सम्भार नगर्नु, क्षमताभन्दा बढी यात्रु कोच्नु, तीव्र गतिमा चलाउनु, लामो यात्रामा पनि एउटै चालकले चलाउनु, मादक पदार्थ सेवन गरेर चलाउनुलगायत बुँदाहरू रहेका छन् । यीबाहेक सवारी साधनका चालक संवेदनशील नहुँदा पनि दुर्घटना बढी हुने गरेका छन् । कुनै पनि चालकले आफूले विभिन्न पार्टपुर्जा जोडेर बनाएको इञ्जिनको भरमा सवारी साधन चलाइरहेको छु भन्ने बिर्संदा दुर्घटना हुने गरेको छ । पछिल्लो ट्रेण्डमा भीडभाड भए पनि, सडक साँघुरो भए पनि कसरी हुन्छ, अर्कोलाई ओभरटेक गरेर स्पीडमा अगाडि जाने हँुदा पनि धेरै दुर्घटना भएका छन् । अर्थात् अनावश्यक हतारले चालकको पनि ज्यान गएको छ र यात्रुको पनि । अर्को कुरा, सवारी चालक अनुमति पत्र (लाइसेन्स) चालकहरूका लागि पैदल यात्रु मार्ने वैधानिक लाइसेन्स बन्नु पनि दुर्भाग्य भएको छ । सवारी दुर्घटना कम गर्नका लागि सवारी साधन चलाउने चालकलाई बढी जिम्मेवार, संवेदनशील बनाउन राज्यले ऐन कानून, नीति नियममा केही फेरबदल गर्नु पर्ने देखिन्छ । पैदल यात्रु र अन्य यात्रुलाई पनि ट्राफिक नियमसम्बन्धी जानकार बनाउनुका साथै दुर्घटना न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुन जरुरी छ ।