यस्तो लाग्थ्यो, चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको महामारी हाम्रो देशसम्म आइपुग्दैन । तर, जब जब चीन हुँदै युरोप, अमेरिकालाई आक्रान्त पार्न थाल्यो, तब यो महामारीले नेपाललाई पनि अछुतो नराख्ने निश्चित भयो । अन्ततः नेपाल पनि कोरोना महामारीबाट आक्रान्त भएको छ । आजको अवस्थामा झण्डै पौने दुई लाख नेपाली कोरोनाबाट सङ्क्रमित बनिसकेका छन् । मृत्युदर करिब एक हजारको हाराहारीमा पुग्न थालिसकेको छ । कोरोना र युद्धमा केही फरक छैन । युद्धमा कति मारिन्छन्, कति घाइते हुन्छन्, कति अङ्गभङ्ग हुन्छन् त्यसको लेखाजोखा हुँदैन । ठीक अहिले आम मानव कोरोनासँगको युद्ध लडिरहेका छन् । युद्धपोतको एकातिर कोरोना भाइरस छ भने अर्कोतिर मानव । ठीक एक सय २ वर्षअगाडि फैलिएको ‘स्पेनिस फ्लु’ को यस्तै किसिमको आतङ्क फैलिएको थियो । त्यो बेला झण्डै ५ करोड मानिसले ज्यान गुमाएका थिए । कोरोना फैलिएपछि आजको स्थितिमा भएका विभिन्न अध्ययनले करिब साढे ६ करोड मानिसको ज्यान जाने अनुमानित आँकडा आउन थालिसकेको छ ।

कोरोनासँगको यो युद्ध मानवकै निम्ति चुनौतीपूर्ण छ, यसलाई परास्त गर्नका लागि अहिले विश्वका वैज्ञानिकहरू दत्तचित्त भएर अनुसन्धानमा खटिएका छन् । खोपका निम्ति लागिपरेका छन् । खोप बनाउने होडबाजी पनि चलेको छ । अर्कातिर कोरोनाले भकाभक मानिसको ज्यान लिइरहेको छ । कोरोनालाई सामान्य ठान्ने देशहरू आच्छु–आच्छु बनेको स्थिति छ । अमेरिका त्यसकै उदाहरण हो । सामान्य फ्लुको रूपमा ठान्ने प्रवृत्तिले अमेरिकामा सबैभन्दा धेरै मानिसले मृत्युवरण गर्न पुगेका छन् । जोनहप्किन्स विश्वविद्यालयको सुरुवाती आँकडालाई पार गरिसकेको छ । भेण्टिलेटर, आइसियु र अक्सिजन अभावले मृत्युशøयामा पुगिरहेका छन् । नेपालको हालत पनि त्यस्तै अवस्थामा गुज्रिरहेको छ । जुन देशमा पुग नपुग १ हजारको हाराहारीमा पनि भेण्टिलेटर तथा आइसियु छैनन्, त्यो देशको हालत झन् के होला, अनुमान लगाउन गाह्रो छ । यो बेलामा सरकारले पनि कोरोना भाइरस सङ्क्रमितको उपचार खर्च स्वयम्ले व्यहोर्नुपर्ने जुन निर्णय गरेको छ, त्यसले झनै देश र सरकारको अवस्था चित्रण गरिसकेको छ ।

अब नागरिक सचेत रहनुको विकल्प छैन, यो मात्रै एउटा विकल्पहीन विकल्प हो । नागरिकको उपचारमा सरकारले जुन नालायकीपन देखाएको छ, त्यसले सरकार हुनु र नहुनुको कुनै औचित्य पुष्टि गर्दैन । त्यसैले नागरिक आफै सचेत भएर कोरोनासँगको युद्धलाई जित्न अग्रसर हुनुपर्छ । आफ्नो बानीबेहोरालाई आजैबाट परिवर्तन गर्न थाल्नुपर्छ । कोरोनालाई सामान्य ठान्ने प्रवृत्तिको अन्त्य पनि आजैबाट गर्नुपर्छ । यो मानव शरीरअनुसार फरक–फरक लक्षण आउने भएकाले पनि निकै खतरनाक मानिन्छ । शरीरको जीन अनुसार यसले आक्रमण गर्ने भएकाले कसैलाई सामान्य स्थितिमात्रै हुनसक्छ, कोही चाहिँ आइसियु या भेण्टिलेटर चाहिने अवस्थामा पुग्न सक्छन् । यो बेलामा सङ्क्रमितको सङ्ख्या धेरै भएकाले तत्काल आइसियु वा भेण्टिलेटर पाउने अवस्था छैन । कतिपय युद्ध जित्नका लागि सावधानी अपनाउनु पर्छ । आफूसँग शस्त्र, अस्त्र भएर मात्रै हुँदैन, युद्ध जित्न बुद्धिको प्रयोग गर्नुपर्छ । कोरोनालाई जित्न अस्त्र हैन, बुद्धिको आवश्यक छ । त्यही बुद्धि नै कोरोनालाई जित्ने एकमात्रै अस्त्र हो । सचेत भएर त्यसको प्रयोग गरौं ।