प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड अस्पताल त बन्यो तर, त्यो अस्पताल मान्छे बचाउनेभन्दा पनि कोरोना महामारीको बहानामा पदाधिकारीहरूलाई कमाइखाने भाँडोमात्र बनेको अवस्था छ । कोभिड अस्पतालको आइसोलेसन र आइसियु भेण्टिलेटरमा भर्ना गरिएकामध्ये आजको मितिसम्म ६१ जनाको मृत्यु भइसकेको छ । त्यसमा पनि आइसियु भेण्टिलेटरमा भर्ना गरिएकामध्ये कोरोना सङ्क्रमित एकजनामात्र बाँच्न सफल भएका छन् । सय शøयाको आइसोलेसनमा २५ शøयामा मात्र अक्सिजन सप्लाइ गर्ने पाइपलाइन जडान गर्नु प्रतिष्ठानको गल्ती हो । त्योभन्दा ठूलो हेल्चेक्र्याइँ त किनेको चार महिना पनि नबित्दै त्यहाँका १० थान आइसियु भेण्टिलेटर बिग्रनु अनौठो मान्नु पर्ने भएको छ । युरोपियन मुलुक आयरल्याण्डमा निर्मित आइसियु भेण्टिलेटर, कोभिडियन कम्पनी निर्माता, अनि बीपी प्रतिष्ठानमा आपूर्ति गर्ने द मेडिकल सल्युसन र त्यसका सञ्चालक भनौं वा मालिक चेतन अग्रवाल र उनका दाजुभाइ । ती मेडिकल उपकरणको मूल्य प्रतिथान १७ लाख ५० हजार रहेको छ । तर, किन बिग्रिए चार महिनामै ? जबकी तिनै कम्पनीको वा त्यस्तै आइसियु भेण्टिलेटर प्रतिष्ठानको मुख्य आइसियु कक्षमा विगत डेढ दशकदेखि चलिरहेको छ मज्जाले । कोभिड अस्पतालका लागि १ करोड ४० लाख रुपैयाँका ती मेडिकल उपकरण पनि बिना टेण्डर फोनकै भरमा प्रतिष्ठानमा भिœयाइएको हो । उपकुलपतिले आफ्ना सल्लाहकारलाई सेटिङ गर्न लगाएर मेडिकल सोल्युसन कम्पनीमार्पmत् ती मेडिकल उपकरण भिœयाएको सर्वत्र चर्चा छ । विभिन्न मिडियामा पनि समाचार आएका छन् ।

समाचार आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र राजनीतिक दलका प्रतिनिधिको चासो पनि बढेको अवस्था छ । मुख्य प्रश्न चार महिनाअघि ल्याइएका भेण्टिलेटर आइसियु यति चाँडै किन बिग्रिए ? सङ्घीय र प्रदेश सरकारले दिएको १२ करोड ५० लाख रुपैयाँ कहाँ कहाँ केके वा कुन कुन मेडिकल उपकरण खरिदमा खर्च भयो ? उक्त रकमले कोभिड अस्पतालको भवन बनाउनु परेको थिएन । करिब ७ करोड लागतमा निर्मित द्वन्द्वपीडित पुनस्र्थापना केन्द्रको भवनलाई नै कोभिड अस्पतालमा रूपान्तरण गरिएको थियो । सङ्घीय सरकार र प्रदेश सरकारले दिएको १२ करोड ५० लाख रुपैयाँले मेडिकल उपकरण खरिद गरे पुग्ने अवस्था थियो । तर, अहिले त्यहाँ १ करोड ४० लाख रुपैयाँको आइसियु भेण्टिलेटर (कोरोना सङ्क्रमित बचाउन काममा नआए पनि) जडान गरिएको छ । सय बेडको सामान्य बेडहरू छन् । भिडियो एक्स–रे र एक्स–रे मेसिन छ । त्यसमा पनि एक्स–रे मेसिन भने जडान गरेको दुई महिना पनि नबित्दै कामै नलाग्ने गरी बिग्रिएको छ । त्यसका तारहरू चुँडाइएका छन् । २५ बेडमा मात्र अक्सिजन सप्लाइ हुने गरी पाइपलाइन विस्तार गरेको बताइएको छ । कोरोना सङ्क्रमित श्वास–प्रश्वासका गम्भीर बिरामीलाई अक्सिजन अनिवार्य चाहिन्छ । तर, अक्सिजन सप्लाइ नै नगर्ने आइसियु भेण्टिलेटर र आइसोलेसन बेडको कुनै औचित्य छैन । कोरोना सङ्क्रमणले दिनैपिच्छे मान्छे मरेका मरेकै छन् तर, उनीहरूकै नाममा स्थापित कोभिड अस्पतालमा जडान गरिएका मेडिकल उपकरण कमसल र गुणस्तरहीन हुनुले प्रतिष्ठानका पदाधिकारीहरू विशेषगरी उपकुलपति र उनका सल्लाहकारमा द्रव्य लोलुलपताले मानवीय संवेदनालाई तिलाञ्जली दिएको हो कि भन्ने आशङ्का गर्न थालिएको छ ।

प्रतिष्ठानमा तन, मन र धन दिएर रातदिन खट्ने चिकित्सक, नर्स, कर्मचारी, ज्यालादरी कर्मचारीले सरकारले वृद्धि गरेको तलब, भत्ता सुविधा नपाएर दैनिक आन्दोलन गरिरहेका छन् । उपकुलपति भने प्रतिमहिना एकलाख रुपैयाँ तलब दिने गरी अनावश्यक रूपमा प्रशासनिक सल्लाहकार नियुक्ति, आफ्नो आसेपासेलाई जागिर, आफ्नो प्रतिकूलका कर्मचारीलाई अन्यत्र सरुवा, कतै नभएको हाँडीगाउँको जात्राको रूपमा प्रेस सल्लाहकार नियुक्तिमा व्यस्त देखिएका छन् । कोभिडको महामारी त उपकुलपतिले पनि खेपेकै हुन् । दुई साता आइसोलेसनमा बसेकै हुन् । तर, आइसोलेसनमा बसेकै बेला अर्थात् बिदाको बेला उनले अनेक विवादास्पद निर्णयहरू गरेर आफ्नो अन्तर्राष्टिय प्रतिभा प्रदर्शन गरे । हुन त प्रतिष्ठानमा उनीभन्दा योग्य, दक्ष र प्रतिभाशाली चिकित्सक नभएका होइनन् । आज तिनै जुझारु र द्रव्यमोहप्रति आकर्षक नभएका सिनियर (कतिपय युवा) चिकित्सकहरूकै कारण विश्वव्यापी ब्राण्ड स्थापित भएको हो । विश्वकै प्रतिष्ठित स्वास्थ्य शैक्षिक संस्थामध्ये भारतको दिल्लीस्थित एम्सका मोडलमा २७ वर्षअघि स्थापित प्रतिष्ठानको हरिबिजोक जति भएको छ, त्यो सबै मुख्य पदाधिकारीहरूको द्रव्यलोलुपताले नै भएको हो । त्यसैको निरन्तरता अहिले कोरोना महामारीकालमा पनि भएको चर्चाले प्रतिष्ठानको प्रतिष्ठा स्थानीयस्तरमा गुमेको छ । गुमेको प्रतिष्ठा फर्काउन प्रतिष्ठानका पदाधिकारीहरूले द्रव्यलोलुपता त्याग्न जरुरी देखिन्छ ।