पूर्वको गहना रे, गौरव रे, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । तर, किन जहिल्यै गन्हाउँछ यति धेरै रु हामीसँग बीपी प्रतिष्ठान छ भनेर गर्वका साथ भन्न खोज्दा शिर झुकाउनु पर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा नमारेको, कागजपत्र नमागेको कुनै वर्ष छैन, विगत एक दशकयता । कहिले मेडिकल उपकरणमा आर्थिक हिनामिना भएको, कहिले पैसा लिएर विद्यार्थी भर्ना गरेको र पास गराएको, कहिले भौतिक पूर्वाधार निर्माण गर्दा ठेकेदारबाट कमिसन लिएको, कर्मचारी, नर्स नियुक्तिमा पदाधिकारी वा विभागीय प्रमुखहरूले घूस कमिसन खाएको जस्ता अनेक काण्डले प्रतिष्ठानलाई थिलथिलो बनाएको छ । वास्तवमा प्रतिष्ठान मुलुककै गहना हो र अन्तर्राष्ट्रिय मेडिकल विश्वविद्यालयका लागि वा यसले उत्पादन गरेका जनशक्तिको दक्षता मापनमा गर्व गर्न सकिने ठाउँ भने छ ।

तर, व्यवस्थापकीय प्रणालीलाई नियमन गर्ने, सुधार गर्ने, सर्वसाधारण गरिब दुःखीलाई अधिकतम् उपचार सेवा दिने भनेर नियुक्त भएका मुख्य पदाधिकारीहरूमा कमिसनको लोभलालचको ¥याल चुहिन थाल्दा जहिल्यै गन्हाउन थालेको हो । भारतकै नामी एम्स अस्पतालको गाइडलाइन अनुसार बीपी प्रतिष्ठानको स्थापना भएको हो । एम्सलाई भारतीय सरकारले पनि भरपूर आर्थिक सहयोग गर्छ । तर, बीपी प्रतिष्ठान भने पार्टीका कार्यकर्ता भर्ती केन्द्र, करोडौं रकम दिएर चार पद हत्याउने जस्ता खेल सुरु भएकाले अहिले प्रतिष्ठानको पुरानो ब्राण्डमात्र छ अर्थात् त्यहाँ कार्यरत दक्ष एवम् विज्ञ र इमान्दार केही प्रोफेसर चिकित्सकहरूले मात्र थामेका छन् । पदाधिकारीले त प्रतिष्ठानलाई जहिल्यै दुहुनो गाई नै बनाएको इतिहास छ । प्रतिष्ठानले कोभिड अस्पतालका लागि भनेर चार महिनाअघि १० वटा आइसियु÷भेण्टिलेटर उपकरण खरिद ग¥यो, त्यो पनि फोनको भरमा मेडिकल माफिया भनेर परिचित एक समूहको कम्पनीबाट । तर, अहिले ती १० वटामध्ये ६ वटा त बिग्रेर कामै नलाग्ने भएका छन् । आयरल्याण्डको कोभिडियन कम्पनीका ती आइसियु बेड सेकेण्ड ह्याण्ड पनि नभएर फालिएका आइसियुका सामग्री जम्मा गरेर टिलिक्क टल्काई नेपालमै कतै जोडेर ल्याइएका जस्ता देखिन्छन् । जबकी प्रतिष्ठानले प्रतिआइसियुको मूल्य १७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

यी मेडिकल उपकरण खरिद गर्दा न उपकुलपति गिरीले कोभिड अस्पताल प्रमुखको राय सल्लाह लिए, न बायोमेडिकल इञ्जिनियरकै राय लिए, न त खरिद शाखा प्रमुखकै । परिणाम जडान भएको तीन महिना नबित्दै पूर्णरूपमा सञ्चालनमा आउन सकेनन् । बीपी प्रतिष्ठान जस्तो स्थापित स्वास्थ्य शैक्षिक संस्थाले खरिद ऐन विपरीत कोरोनाको बहाना बनाई फोनको भरमा मगाएको करोडौंको मेडिकल उपकरण बिरामी बचाउन काम नलाग्नु कहाँसम्मको गैरजिम्मेवारी हो पदाधिकारीहरूको ? अहिले चर्चा छ, उपकुलपति, उनका स्वकीय सचिवसमेत रहेका प्रशासनिक सल्लाहकारलगायतको मिलेमतोमा ती उकरण खरिद गरिएको हो । १७ लाखभन्दा बढी पर्ने एउटै आइसियु बेड किने पनि त्यहाँ भर्ना हुने बिरामीले किन नियमित अक्सिजन पाइरहन सकेको छैन ? जडान गरिएका ती मेडिकल उपकरण के प्रतिष्ठानको लागि देखाउने दाँत मात्र हुन् ? बिरामी बचाउने उद्देश्य होइन ? यसरी कोरोनाको नाममा ब्रम्हलुट गर्ने कसैलाई छुट छैन ।