कोरोना महामारीको त्रासमा छौं । तर, यो कोरोना महामारीलाई चुनौती र अवसरको रूपमा लिएर सदुपयोग गर्न सकिन्छ भन्ने सानो उदाहरण इटहरी बजारलाई लिन सकिन्छ । अहिले कोरोना महामारीका कारण जोगवनी नाकासहित भारतसँग जोडिएका सबै नाका बन्द छन् । ती नाकाहरू बन्द हुँदा चाडबाडको पूर्वसन्ध्यामा नेपाली बजारमा भने कोरोनाकै त्रासबीच पनि चहलपहल बढेको छ । इटहरी, धरान, दमक, बिर्तामोड जस्ता पूर्वका शहरी क्षेत्रका स्थानीय उपभोक्ताहरू भारतीय बजारमा किनमेलका लागि जान नसकेपछि आफ्नै आसपासका बजारमा दशैं तिहारको किनमेलमा व्यस्त छन् । होलसेल तथा खुद्रा पसलमा व्यापार बढेको छ । अघिल्लो वर्षको तुलनामा इटहरी क्षेत्रमा दशैं बजारको चहल–पहल बढेको छ । कोरोनाको त्रास त छँदैछ, तर दशैं तिहारको पूर्वसन्ध्यामा पनि विगतमा नेपाली बजार प्रायः सुनसान मात्र हुने गरेका थिए । धरान, इटहरी, बिर्तामोड, दमक लगायत शहरका व्यापारी व्यवसायीहरू चाडबाडको पूर्व सन्ध्यामा खुशी हुनुको सट्टा निराश र दुःखी भएर आफ्नो पसलमा ग्राहकको प्रतीक्षा गर्दै समय कटाउने गरेका थिए । तर, यसपटक कोरोना महामारी नै भए पनि नेपाली उपभोक्ताहरू स्वदेशकै बजारमा किनमेलका लागि जुटेकाले व्यापारी व्यवसायीहरू खुशी हुनु स्वभाविक हो । सीमा नाकाका नेपाली बजारका व्यापारी व्यवसायीसमेत नाकाभन्दा करिब ५० किलोमिटर उत्तरका बजारहरूमा होलसेल सामान किन्न आउन थालेका छन् ।

यसअघिका चाडबाडका बेला नेपाली उपभोक्ताहरूमध्ये कम्तिमा ६० प्रतिशत भारतीय सीमापारिका बजारमा किनमेलका लागि करिब तीनसाता धाउने गरेका थिए । नेपाली उपभोक्ताले किनमेल गर्दा प्रदेश १ बाट मात्र दशैं तिहार जस्ता चाडबाडका नाममा अर्बौं रुपैयाँ बाहिरिने गरेको थियो । तर, यसपालि कोरोनाले नेपाली रुपैयाँ बाहिरिनबाट जोगाएको छ । व्यापारी व्यवसायीहरू कोरोनाकै त्रासबीच पनि स्वास्थ्य प्रोटोकलको पालना गर्र्दै दशैं तिहारका लागि आवश्यक लत्ताकपडा, जुत्ता–चप्पल, खाद्य सामग्री किनमेलमा व्यस्त भएका उपभोक्ताको अनुहार देखेर दङ्ग छन् ।

सीमावर्ती बजार जोगवनी, सिलिगुडी जानका लागि नाका बन्द भएका कारण बाहिरबाट आउने ग्राहक, वा उपभोक्ताहरू पूर्वका काँकडभिट्टा, बिर्तामोड, दमक, इटहरी, धरानलगायतका बजारमै केन्द्रित भएका छन् । दशैं तिहार नजिकिएसँंगै बजार, पसलमा भीडभाड बढेपछि कोरोनाले व्यापक आर्थिक घाटा व्यहोर्न बाध्य स्थानीय उद्योगी, व्यापारी व्यवसायीहरूलाई थोरै भए पनि राहत मिलेको छ ।