नेपालीहरूको महान् चाडहरू दशैं, तिहार, छठ, चासोक तङ्नाम लहरै आउँदै छन् । यी चाडपर्वहरू कात्तिक, मङ्सिर र पुसभित्र पर्छन् । चाडपर्वहरू धर्म र संस्कृतिसँग जोडिएका हुन्छन् । बढी त संस्कृतिसँग नै जोडिएका छन् । नेपाली समुदायले ३६५ दिनमा ६ सयवटा चाडपर्वहरू मनाउने गरेका छन् । नेपालमा बस्ने सबै जातीय समुदायको मौलिक चाडपर्वहरू पनि एकसाथ गणना गर्ने हो भने विश्वमै सबैभन्दा बढी सांस्कृतिक चाडपर्वको देश भनेर चिनाउन पनि सकिन्छ । यहाँ चाडपर्वको विशेषताको बखान गर्नलाई यतिको भूमिका बाँधेको होइन । नेपालमा धुमधामले मनाइने मौलिक सांस्कृतिक चाडपर्वलाई कोरोना भाइरसले उत्पन्न गराएको विश्वव्यापी महामारीले कस्तो असर पार्दो हो भनेर चिन्तन मनन् गर्नमात्र खोजिएको हो ।
कोरोना महामारीले आर्थिक, सामाजिक, व्यावसायिक, शैक्षिक, मनोवैज्ञानिक, जनस्वास्थ्य, प्राकृतिक वातावरणीय क्षेत्रमा व्यापक असर परेको बेला धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पनि यसले उत्तिकै असर पु¥याएको छ । जुनसुकै चाडपर्व भने पनि नेपाली समुदाय पारिवारिक वा सामाजिक रूपमा एकाकार भएर मनाउने परम्परा छ । दशैं, तिहार, छठ, चासोक तङ्नामजस्ता चाडपर्वहरू मनाउँदा एक्लै वा परिवारमात्रै भेला नभई छरछिमेक, इष्टमित्र, कुलकुटुम्ब, साथीभाइ, आफन्तहरू भेला हुने चलन छ । मौलिक परिकार पकाएर खाने, मौलिक पहिरनमा सजिने, अनि खानपान गर्ने चलन छ । समूहमा बाँच्ने जीवनशैली भएका नेपालीहरू समूहमै आफ्ना चाडपर्वहरू मनाउँछन् । तर, कोरोना महामारीले अब आउने विभिन्न सांस्कृतिक चाडपर्वहरूलाई कस्तो प्रभाव पार्ला ? सोचनीय छ । कोरोना सर्ने भनेकै भीडभाडबाट हो । सांस्कृतिक चाडपर्वमा भीडभाड त हुने नै भयो । त्यसो भए नमान्ने त सांस्कृतिक चाडपर्व ? नेपाली समुदायको मौलिक, सांस्कृतिक चाडपर्व मनाउने लालसालाई कोरोनाले छेक्न सक्छ ?
कोरोनाकालमा कसरी मानिसको जीवनशैली परिवर्तन भइरहेको छ भन्ने विषयमा मनोविज्ञानी, समाजविज्ञानी, समाजशास्त्री, साहित्यकार, लेखक कवि, राजनीतिज्ञहरूले चिन्तन मनन् त पक्कै गरिरहेका छन् । सङ्कटमा जीवनशैली र सामाजिक व्यवहारमा पूरै परिवर्तन आउँछ । जसरी अहिले नाक र मुख छोपिने गरी मास्क लगाउने, कतै बाहिर गएर घरमा आएमा तत्काल साबुन पानीले हात धुने, नुहाइहाल्ने, एकले अर्कोलाई नछुने, कोरोना भाइरस सर्ने डरले भौतिक दूरी कायम गर्ने, स्वास्थ्यप्रति संवेशदनशील बन्ने सामाजिक प्रवृत्ति बढेको छ । त्यसरी नै सांस्कृतिक चाडपर्व मनाउँदा पनि कोरोना सङ्क्रमण हुनबाट जोगिने उपाय त गर्नै पर्ने भएको छ । विगतका वर्षमा मनाइएका चाडपर्वमा जस्तो भेला भएर भीडभाड गर्नेभन्दा पनि अलग–अलग रहेर वा भौतिक दूरी कायम गरेर भए पनि चाडपर्व मनाउन सकिन्छ । समस्या कहाँनिर छ भने दशैंमा आफूभन्दा ठूलाबाट आशिर्वाद लिँदै निधारमा टीका थाप्ने, दक्षिणा लिने, भाइटीकामा चेलीले माइतीलाई भाइटीका र माला लगाइदिने परम्परालाई कसरी कायम राख्ने भन्ने हो । अब यसका लागि पनि उपाय त छ । चाडपर्व मनाउनेहरूले विद्यमान स्वास्थ्य प्रोटोकल अनुसार मास्क लगाउने र हातमा पञ्जा लगाएर टीका–माला लगाइदिए कोरोना सर्नबाट बच्न सकिन्छ । यद्यपि भीडभाड नगरी सांस्कृतिक चाडपर्वलाई मनाउन सकिन्छ । यसरी नै कोरोना विरुद्ध आत्मबल बढाउँदै चाडपर्व मनाउनु उत्तम उपाय हुनेछ ।